काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ ।

विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । निर्माणधिन आयोजनाको प्रगतिका आधारमा संशोधित विवरण तयार गरेको उनले बताए । “सुरुमा धेरै आयोजना सकिने देखिएको थियो” उनले भने “प्रगतिका आधारमा कम देखियो, यसमा पनि केही आयोजनाको तलमाथि हुन सक्नेछ ।”
उनका अनुसार यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ । चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । आयोजनाको ठेक्का तोडिने अवस्थामा पुगेको छ ।
हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् ।
सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् ।
यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् ।
यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् ।
सोलारको पीपीए गर्न द्धिविधा :कार्यकारी निर्देशक घिसिङ
विद्युत प्राधिकरणले ६१ मेगावाट क्षमताका २१ सोलार आयोजनासंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नगर्ने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा सोलारको बिजुलीको मूल्य घट्दै गएको र ऊर्जा मन्त्रालयले कार्यविधिले यसअघि तय गरिएको भन्दा कम पीपीए दर निर्धारण गरेपछि प्राधिकरणलाई सोलार आयोजनाको पीपीए गर्न द्धिविधा भएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यसअघि ऊर्जा संकट समधान गर्न सरकारले सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपछि २१ कम्पनीले ६१ मेगावाट बिजुली उत्पादन योजनासहित प्राधिकरणमा पीपीएका लागि निवेदन दिएका थिए ।
त्यसबेला प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६१ पैसा आधारदर तयार गरेको थियो । कम्पनीहरुले प्रतियुनिट ९ रुपैयाँ ४५ पैसा र ८ रुपैयाँ ३५ पैसामा बिजुली बेच्ने प्रस्ताव गरेका थिए ।
ऊर्जा मन्त्रालयले हालसालै तयार पारेको सोलारबाट बिजुली उत्पादन गर्ने निर्देशिकामा प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर कायम गरेपछि यसलाई अघि बढाउन कानूनी समस्या भएको हो । निर्देशिकाले पीपीए गर्न प्राधिकरणलाई समस्या परेको छ । प्राधिकरण सञ्चालक समितिले कार्यविधिलाई पारित गरेको छैन् ।
भारतबाट ४६२ मेगावाट बिजुली आयात
लोडसेडिङ अन्त्य गर्न विद्युत प्राधिकरणले भारतबाट ४६२ मेगावटसम्म बिजुली आयात गरेको छ । चालु आवमा प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ । प्रसारणलाइन पुर्वाधारको विकास गरेर भारतबाट यो परिमाण बिजुली आयात गर्न लागेको हो ।
प्राधिकरणका आयोजनाबाट (कुलेखानी बाहेक) ३४१, निजी क्षेत्रबाट १९७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । नदीमा जलस्तर घट्दै गएपछि बिजुली उत्पादन पनि क्रमश घट्दै गएको छ । हाल बिजुलीको माग पिक आवरमा १ हजार ३११ मेगावाट छ ।
भारतबाट आयात र आन्तरिक उत्पादनबाट १ हजार मेगावाट आपूर्ति भएको छ । ३११ मेगावाट बराबर उद्योग क्षेत्रमा लोडसेडिङ गरिएको छ । साँझ ३ घण्टा उद्योगमा बिजुली आपूर्ति बन्द हुने गरेको छ ।
कुलेखानी जलासयमा पानीको सतह यो वर्ष गत वर्षको भन्दा झण्डै १ मिटर बढी रहेको छ । हाल कुलेखानी जलासयमा पानीको सतह १ हजार ५२५ मिटर छ । गत वर्ष १ हजार ५२३ मिटर थियो ।