काठमाडौं । अब नेपालमै साइबर क्राईमको इन्स्योरेन्स हुने भएको छ । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक भएपछि नेपाली बीमक कम्पनीहरुले नै साइबर क्राइमको इन्स्योरेन्स गर्ने प्रक्रिया अघि बढाएका थिए ।
हाल नेपाल इन्स्योरेन्स कम्पनीले साइबर क्राईम सम्बन्धी इन्स्योरेन्स पोलिसी नै बनाएर बीमा समितिलाई बुझाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले साइबर क्राइम इन्स्योरेन्सको पोलीसी बनाएर बीमा समितिमा पेश गरिसकेको बताए ।
‘हामीले साइबर क्राइम सम्बन्धी इन्स्योरेन्सको पोलिसी बनाएर बीमा समितिलाई बुझाई सकेका छौं, समितिले अनुमति दिएपछि नेपालमा पहिलो पटक साइबर इन्स्योरेन्स पोलिसी कार्यान्वयनमा आउँछ’, प्रमुख कार्यकारी अधिकृत शाहले भने ।
बीमा समितिले पनि साइबर क्राइम सम्बन्धी जोखिमको इन्स्योरेन्स गर्ने प्रक्रिया अघि बढेको बताएको छ । ‘अधिकांश निर्जीवन बीमा कम्पनीहरुले साइबर क्राइम इन्स्योरेन्सको पोलिसी बनाउन थालेका छन्, समितिसँग पटक पटकको छलफलपछि साइबर क्राइम इन्स्योरेन्स पोलिसी बनाउन लागिएको हो’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । उनका अनुसार साइबर क्राइम सम्बन्धी विदेशी विदेशी विज्ञले नेपाली इन्स्योरेन्स कम्पनीको उपल्लो नेतृत्वलाई साइबर क्राइम इन्स्योरेन्स सम्बन्धी प्रस्तुति समेत दिएका थिए ।
सिइओ शाहले अघि भने–‘नेपाल इन्स्योरेन्सले नै बैंकर्सहरुलाई प्रेजेन्टेशन दिएको हो, साइबर क्राइमको बीमा सम्भव छ, जोखिम हस्तान्तरण सम्भव छ भन्ने स्थापित गरेरै छाड्छौं ।’
शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले पनि साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स पोलिसी बनाउने प्रक्रिया अघि बढाएको बताए । उनले विभिन्न देशहरुमा भैरहेको साइबर क्राइम सम्बन्धी बीमा पोलिसीको अध्ययन गरेर आगामी एक डेढ महिनाभित्र नतिजा आउने गरि काम गरिरहेको पनि जानकारी दिए ।
हालसम्म नेपालमा साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स गर्ने व्यवस्था नै थिएन् । विभिन्न बीमा कम्पनीले तयार पारेको पोलिसीको अध्ययन तथा एक्चुरी गरेर साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स पोलिसी कार्यान्वयनमा ल्याउने समितिका निर्देशक पौडेलले बताए ।