काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । बजारमा परिसूचक ७.२२ अंकले उकालो लागेर १४२३ अंकमा पुगेको छ । सो दिन ५३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड २६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको ५ करोड रुपैयाँको सेयर र राष्ट्रिय बीमा कम्पनीको २ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।
त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत गुमाएका छन् ।
बिहीबार कारोबारमा आएका १० समूह मध्ये ७ समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १८ अंकले उकालो लागेका छ । विकास बैंक, होटल र ट्रेडिङ समूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेका छन् ।