काठमाडौ । तराई/मधेशका नगरपालिकाले रातिका उज्यालाका लागि राखिएका बत्ति दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गतका भरतपुर तथा वीरगंज महानगरपालिका, हेटौडा उपमहानगरपालिका, गौर, कलैया, लगायतका नगरपालिले विद्युतको पोलमा झुण्डाएर सडक बत्तिका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा वत्ति बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन ।

यसैगरि, जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवा लगायतका नगरपालिकाले राखेका सडक वबत्ति दिनभर बलिरहेका छन् । सडक वत्ति रातको समयमा मात्रै बालिने भएकाले त्यस्ता सडक वत्तिको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा वत्ति राख्ने तर त्यसलाई ननिभाउँदा विजुली चुहावट भइरहेको छ ।
यसबाट नेपाल विद्युत प्राधिकरणले करौडौं रुपैयाँ राजश्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्यमा आपूर्ति पुग्दैन । एकातर्फ दिनभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कोतर्फ भारतबाट बढी आयात गर्नुपर्छ । ‘निर्वाचित जन प्रतिनिधि आएपछि सडक वत्ति राख्न प्रतिश्पर्धा नै चलेको छ, तर, हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावीरुपमा सडक वात्ति राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन’, जनपुर क्षेत्रीय कार्यालय अन्तर्गतका एक बितरण प्रमुखले भने,‘किन यस्तो गरियो भनेर मेयर/उपमेयरलाई सोध्यो, हामी निर्वाचित प्रतिनिधि हौ, यस्तो अधिकार छ भन्नु हुन्छ, उहाँहरुको अगाडि हामी निरिह बन्नु पर्ने अवस्था छ ।’
सडक वत्तिबाट विद्युत चुहावट भइरहेको र राजश्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक वत्ति निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घिसिङले जनकपुर तथा हेडौडा क्षेत्रीय कार्यालय अन्तर्गतका बितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । ‘त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक वत्ति दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजश्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ’उनले भने,‘वत्ति निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नु पर्यो, अब त्यस्ता वत्ति निकाल्न अभियान नै सुरु गरिसकेका छौं ।’ उनले दिउसो बलिरहने सडक बत्ति निभाइदिएर ‘उज्योलो नेपाल’ अभियानलाई सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे ।
सडक वत्ति दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर बितरण केन्द्रको विद्युत चुहावटमा सडक बत्तिको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ । जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ति दिनभर बलिरहन्छ । त्यसलाई नत जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै । स्विच राखिएको ठाउँका सडक वत्तिसमेत दिनभर बलिरहने गरेको जनपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्विकारे । उनले भने,‘सडक वत्ति निभाउन भनिरहेका छौं तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन’,उनले भने,‘मेयर÷उपमेयरलाई अनुरोध गर्यो, गर्दैछौं भन्नु हुन्छ तर अहिलेसम्म नतिजा देखिएको छैन ।’
हेडौडा क्षेत्रीय कार्यालय अन्तर्गतको सडक वत्तिको बक्यौता ७१ करोड ४१ लाख रुपैयाँ छ । विद्युत चुहावट १५.३९ प्रतिशत छ । प्राधिकरणले असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरि। जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको सडक बत्तिको बक्यौता ५७ करोड १४ लाख ४८ हजार रुपैयाँ छ । विद्युत चुहामवट ३६.५५ प्रतिशत छ । यसलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मन्त्रिपरिषद्ले गत असारसम्मको सडक वत्तिको बक्यौता तिरिदिने निर्णय गरेको छ । वक्यौता रकम सम्बन्धित नगरपालिका÷गाउँपालिकाले समर्थन भने गर्नु पर्ने छ । प्राधिकरणले अहिले बक्यौता रकमलाई समर्थन गरिदिन आग्रह गर्दै सम्बन्धित नगरपालिका÷गाउँपालिकालाई पत्राचार गरिसकिएको जनाएको छ ।