काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बढी रकम मागेपछि नेपाल राष्ट्र बैंकले बिहीबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
लगानीयोग्य पुँजी अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले बुधबार २२ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ मागेपछि केन्द्रीय बैंकले पुनः बजारमा पैसा पठाएर समस्या समधान गर्न पहल थालेको हो ।
लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए ।
सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो । यो समेत गरी एक सातामा मात्रै राष्ट्र बैंकले बजारमा २५ अर्ब रुपैयाँ पठाउने छ ।
बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्टै देखिएको छ । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार थप रकम पठाएको हो ।
राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४१ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ ।
बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।