काठमाडौं । गत पुस १३ देखि १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औँ फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा गोल्डस्टार जुत्ताले “बेस्ट पर्फर्मेन्स अफ द इभेन्ट” अवार्ड पाएकाे छ ।
एक हप्तासम्म आयोजना गरिएको यो कार्यक्रममा गोल्डस्टारले सबैभन्दा बढी ग्राहक तथा दर्शकहरूको ध्यानाकर्षण गरी, सबैभन्दा बढी विक्री-वितरण तथा आफ्नो उत्कृष्ट स्टलबाट विभिन्न प्रकारका गोल्डस्टार जुत्ताहरू ग्राहकसमक्ष प्रस्तुत गरी कार्यक्रमको सर्वोत्कृष्ट ब्रान्डको पुरस्कार जितेको हो ।
किरण सुज म्यानुफ्याक्चरर्सका बजार व्यवस्थापक तथा प्रदर्शनीमा गोल्डस्टार जुत्ताको प्रतिनिधित्व गरेका इरज श्रेष्ठले भने, “गोल्डस्टार जुत्ताको माग तथा आकर्षण नेपाली प्रयोगकर्ताहरूमा चरममा रहेको अनुभव हामीलाई भयो । नेपालीहरूको यो माया र विश्वासले नै हामी सबैभन्दा रुचाइएको जुत्ता भएका छौँ र यो प्रदर्शनीमा पनि उत्कृष्ट ठहरिएका हौँ ।”