काठमाडौं । सरकारले स्वीडेनको टेलिया सोनेरा कम्पनीलाई पुँजीगत लाभकर तिर्न ताकेता गरेको छ ।
ठुला करदाता कार्यलयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार रुपैयाँ पुँजीगत लाभकर चुक्ता गर्न सूचना जारी गरेको हो ।
मेलेसियाको आजियाटा ग्रुप ब्राड मेलेसियालाई ८० प्रतिशत स्वामित्व बिक्री गर्दाको पुँजीगत लाभकर ६० अर्ब ७१ करोड २४ लाख र समयमा कर नतिरेकाले सोमा लागेकाे ब्याज र हर्जना शुल्क थप ५ अर्ब गरी ६५ अर्ब ४० करोड रुपैयाँ तिर्न कार्यालयले टेलियाको नाममा पत्राचार गरेको छ ।
१५ दिनको सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुल उपर गर्ने चेतावनी कार्यालयले दिएको छ ।
यसअघि गत जेठ १३ मा कर कार्यालयले टेलियालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो । ०७२ साल चैत्रमा टेलिया सोनेरालाले आजियाटालाई एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गरी नेपालबाट बाहिरिएको थियो ।
एनसेलको स्वामित्व आजियाटालाई बिक्री गरेपछि ठुला करदाता कार्यलयले टेलियालाई ६० अर्ब ७१ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरी तिर्न ताकेता गरेको थियो ।
पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि कार्यलयले बुधबार सार्वजनिक सुचना जारी गरी कर तिर्न आउन बोलाएको हो । अघिल्लो साता सर्वोच्च अदालतले एनसेललाई नेपालमा कमाएको लाभांश विदेश लैजान बाटो खुला गरेको थियो । सर्वोच्चले बाटो खुला गरेपछि कार्यलयले कर असुली गर्न ताकेता गरेको हो । टेलियाले लाभकर तिर्नुनपर्ने जिकिर गर्दै अटेर गर्दै आएको छ ।