काठमाडौं । बाणिज्य बैंकहरुले लगानीयोग्य पुँजीको चरम अभाव भयो भन्दै केन्द्रिय बैंक र अर्थ मन्त्रालय धाईसकेका छन् । तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंक भने रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि मात्रै केन्द्रिय बैंकले रिपो जारी गरेर बजारमा हस्तक्षेप गर्न पाउँछ । तर अहिलेसम्म त्यस्तो ब्याजदर ४.५ प्रतिशतकै आसपासमा अडिएको छ ।

‘बजारमा पैसाको अभावै हुन्थ्यो भने अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघ्नु पर्ने हो, अहिले हल्ला गरिएको जस्तो लगानी योग्य पुँजीको अभाव छैन, नयाँ बैंकलाई मात्रै केहि समस्या देखिएको हो’, नेपाल राष्ट बैैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विकासन्युजसँग भने । उनले बैंकिङ प्रणालीमा अझै ४१ अर्ब रुपैयाँ अधिक तरलता रहेको बताए ।
“३ साता भयो राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । रिपो जारी गर्न अन्तर बैंक ब्याजदर ५ प्रतिशत कट्नुपर्छ त्यो भएको छैन”, उनले भने “राष्ट्र बैंक रिपो जारी गरेर बजारमा तरलता व्यवस्थापन गर्न चाहान्छ तर बैंकहरुले रिपो जारी गर्न अवसर नै दिएका छैनन् ।”
चालु आर्थिक वर्ष सुरुभययता राष्ट्र बैंकले ६ पटक रिपो जारी गरिसकेको छ । रिपोको भन्दा अन्तर बैंक ब्याजदर सस्तो भएपछि यस्तो अवस्था आएको हो । गर्भनर डा. चिरन्जीवि नेपालले पनि ३ सातादेखि रिपो निष्कासन गर्न नपाएको बताएका छन् ।
रिपो निष्कासन गर्न नपाएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकसंग भएको विकास ऋणपत्र खरिद गर्न लागेको उनको भनाई छ । यसअघि साढे ४ प्रतिशत ब्याज कबोलेर ५ अर्ब बैंकले लगिसकेका छन । आज बुधबार केन्द्रीय बैंकले पुनः १० अर्बको ऋणपत्र खरिद योजना ल्याएको छ ।
केही नयाँ बैंकले आफनो पोर्टफोलियो बढाउनका लागि आक्रमक ढंगले अघि बढन चाहेको उनको भनाई छ । “भएको निक्षेप सकिएपछि अहिले केही बैंकको नजर सरकारको ढुकुटीमा गएको छ” उनले भने “बैंक डिलमा पुगिसकेका छन्, अहिले सरकारको वचत भएको रकम दिनुपर्यो भनेर हारगुहार गरिरहेका छन ।”
चालु आर्थिक वर्षको ४ महिनामा बैंकको कर्जा लगानी साढे १७ प्रतिशत र निक्षेप परिचालन १४ प्रतिशत भएपछि लगानीयोग्य पुँजीको अभाव भएको उनको भनाई छ ।
पछिल्ला समयमा खुलेका बैंक पुरानासंग प्रतिस्पर्धा गर्न निक्षेप परिचालन, कर्जा लगानी बढाएर बढी नाफा कमाउने होडमा लाग्दा अहिलेको अवस्था आएको उनको दावी छ । ती बैंकले अहिले कर्जा लगानी २२ प्रतिशतसम्म विस्तार गर्नका लागि राष्ट्र बैंकसंग लगानीयोग्य पुँजी मागिरहेको भन्दै उनले यस्ता बैंकको नाम भने खुलाउन चाहेनन् ।
नयाँ पुस्ताका सिभिल, सेञ्चुरी, मेगा, जनता लगायतका बैंकहरुमा हाल तरलताकै समस्या देखिएको छ । यी बैंकहरुले आक्रामक बजार विस्तारका क्रममा छन । आफ्नो हैसियत भन्दा अघि बढेर ऋण प्रवाह बढाएपछि यी बैंकहरुमा समस्या देखिएको राष्ट्र बैंकको जिकिर छ ।
यता गभर्नर डा. चिरन्जीवि नेपालले निक्षेप संकलन गर्न नसके चुप लागेर बस्न बैंकहरुलाई भनेका छन् ।
निक्षेप संकलन भन्दा कर्जा लगानी बढी गरेको आरोप लगाउदै गभर्नर नेपालले भने “निक्षेप बढाउनुस सक्नु हुन्न भने चुप लागेर बस्नुस ।” निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था नरहेको उनको भनाई थियो ।