आज राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै, तरलता समस्या समधान होला ?

<p>काठमाडौं । वाणिज्य बैंकहरुले धेरै रकम मागेपछि नेपाल राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो । आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले धेरै रकम मागेपछि नेपाल राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो ।

आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न थप रकम पठाउन लागेको हो ।

आइतबार २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेकोमा केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ बैंकलाई दिएको थियो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता छ ।

आइतबार औसत साढे ४ प्रतिशत ब्याजमा विकास ऋणपत्र राष्ट्र बैंकमा धितो राखेर बैंकहरुले पैसा उठाएका हुन् । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न लागेको हो ।

विकास ऋणपत्रको समयसम्म यो कायम हुने राष्ट्र बैंकले जनाएका छ । यो दीर्धकालिन तरलता प्रवाह हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।

बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।

बैंकरले मुद्दती निक्षेपको ब्याज दर नबढाउने आन्तारिक सहमति गरेका छन् । मुद्दतीको ब्याजदर बढ्दा कर्जा धेरै महंगो हुने भएपछि नेपाल बैंकर्स एसोसियसनको पहलमा बैठक गरी ब्याजदर अब नबढाउने सहमति गरेका हुन् ।

हाल मुद्धति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने गरी बैंकले योजना ल्याएका छन् । ब्याज नबढाउने बैंकको निर्णयले सेयर बजारमा सुधार आउन थालेको छ । बैंकले साधारण वचतमा भने ६ प्रतिशत भन्दा कम ब्याज दिइरहेका छन् ।सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ । अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ ।

Share News