काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले निक्षेप संकलन गर्न नसके चुप लागेर बस्न बैंकहरुलाई भनेका छन् ।

१ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब बैंकले लगानी गर्दा बजारमा लगानीयोग्य पुँजीको अभाव भएको दावी गर्दै गभर्नर नेपालले भने “निक्षेप बढाउनुस सक्नु हुन्न भने चुप लागेर बस्नुस, नत्र कार्वाही हुन्छ ।” निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था नरहेको उनको भनाई थियो ।
ग्लोबल आईएमई बैंकको नयाँ कर्पोरेट कार्यलयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बैंकरलाई भने “निक्षेप संकलन गरेर मात्र कर्जा प्रवाह गर्नुस नत्र भने कार्वाही हुने छ ।” अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी कार्यक्रममा गभर्नर नेपालले बैंकको कार्यशैलीप्रति कडा आलोचना गरे ।
उनले आफनो क्षमता भन्दा बढी लगानी गर्दा समस्या आएको भन्दै क्षमता बढाएर मात्र लगानी विस्तार गर्न बैंकलाई सुझाए । उनले अहिलेको अवस्था आउनुमा बैकहरु दोषि रहेको दावी गर्दै आक्रोस व्यक्त गरेका छन् ।
पछिल्ला केही समययता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट बढेको छ । अधिकाँश बैंक लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।गभर्नरले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको जानकारी दिए । बैंकका कारण रिपोमार्फत बजारमा पैसा पठाउन नसकेको गुनासो गरे । उनले सञ्चालक समितिलाई खुसी पार्ने काम मात्र नगर्न सीईओलाई चेतावनी दिएका थिए ।
राष्ट्र बैंकले बैकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ । यता बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात बढेर ७७ प्रतिशत पुगेको छ । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ ।