काठमाडौं । कच्चा पदार्थ र ढुवानी भाडा बढेको भन्दै उद्योगीहरुले सिमेन्टको भाउ बढाउने चलखेल सुरु गरेका छन् । पुस लागेसँगै केहि प्रतिशत मूल्य बढाएका उद्योगीहरुले सिमेन्टको पुनः मूल्य बढाउने अभियान थालेका हुन् ।

‘सिमेन्टको मूल्य बर्षमा ४।५ पटक घटबढ हुनु स्वभाविक हो, कच्चा पदार्थ र ढुवानी भाडा बढेकाले अहिले पनि सिमेन्टको मूल्य बढ्न सक्ने अवस्था देखिएको छ’, नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष समेत रहेका अर्घाखाँची सिमेन्टका कार्यकारी निर्देशक पशुपति मुरारकाले विकासन्युजसँग भने ।
उद्योगीहरुले मूल्य बढाउने चलखेल स्वरुप सिमेन्टको आपुर्ति नै रोकिरहेका छन् । भाउ नबढेसम्म सिमेन्ट आपूर्ति नगर्ने अडानमा उद्योगी रहेका छन् । ‘एक हप्तादेखि बजारमा नेपाली सिमेन्ट पाईरहेका छैनौं, मूल्य बढेपछि मात्रै बजारमा आउने उद्योगीहरुले भनिरहेका छन्’, राजधानीका एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने । यद्यपी मुरारकाले भने, सिमेन्टको आपूर्ति बन्द नगरिएको दावी गरेका छन् ।
पुसयता मात्रै ‘पीपीसी’ सिमेन्टको मूल्य बढेर प्रतिबोरा कारखाना मूल्य ६७० देखि ७०० सम्म र ‘ओपीसी’ ७७० देखि ८०० सम्म पुगेको छ ।
दुई हप्तायता ढुवानी भाडामा बोराको ३०÷३५ प्रतिशत र क्लिङ्करको भाउ समेत बढेको मुरारकाको भनाइ छ ।
उद्योगीहरुका अनुसार अहिले सिमेन्टको माग बढ्ने सिजन हो । यो सिजनमा विगतदेखि नै सिमेन्टको भाउ बढ्दै आएको छ । साउन, भदौ जस्ता अफ सिजनमा भने, मूल्य घट्ने गरेको छ ।
उनीहरुका अनुसार अहिले नेपालमा मुलुक बाहिरदेखि करिब ७० प्रतिशत कच्चापदार्थ भित्रिदै आएको छ । अबको २ वर्षभित्र कच्चा पदार्थको लागि नेपाल आत्मनिर्भर हुने उनीहरुको दावी छ ।