काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ ।
मंगलबारको बजारमा कुल ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) बजारमा ४९ करोडको सेयर किनबेच भएको थियो । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ । सोमबार पनि यस कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको थियो ।
त्यस्तै, बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ ।
मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।