काठमाडौं । नेपला आयल निगमले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित विधिद्धारा निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य बढेको छ । बढेर ती इन्धनको मूल्य क्रमशः १०२, ७९, ७९ रुपैयाँ पुगेको छ ।
त्यस्तै खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेर रू. १३७५ पुगेको छ । आन्तरीक हवाई इन्धनमा ३ रुपैयाँ बढेर रू. ९० भने, बाह्रय हवाई इन्धनमा हजार लिटरमा ५० डलर बढेर ९ सय डलर पुगेको छ । मुल्य समायोजन गरेपनि निगमलाई दैनिक करिब ८८ लाख रुपैयाँ घाटा भइरहेको जनाएको छ ।
निगमका प्रवत्ता विरेन्द्र गोइतले बताए अनुसार अहिले निगमलाई मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । त्यसको आधारमा दैनिक निगमलाई ८८ लाख रुपैयाँ घाटा भएको देखिएको हो । “भारतले तय गरेको मूल्य अनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ । यद्यपि केही समयअघिको चाडपर्व, स्थानिय, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लगायतको कारणले बीचमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकिएन,” उनले भने “त्यसको प्रभाव अझैसम्म निगमलाई परेको छ ।”
उनका अनुसार स्वचालित विधिबाट पनि निश्चि मापदण्डसम्म मात्र मूल्य बढाउन सकिन्छ । जसकारण घाटै खाएर भएपनि अहिले निगमले मूल्य समायोजन गरिरहेको हो । “अहिले डिजलमा प्रतिलिटर २ रुपैया ७१ पैसा भने, एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २०८ रुपैया २ पैसा घाटा छ,” प्रवक्ता गोइतले भने ।