उपत्यकामा नयाँ शहरः २ हप्तापछि सुरु हुँदैछ डीपीआर निर्माण

<p>काठमाडौं । भक्तपुर र ललितपुरको १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डिपिआर निर्माण २ हप्तापछि सुरु हुने भएको छ । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीका अनुसार भक्तपुर र ललितपुरको नयाँ शहरको डिपिआर बनाउने कम्पनीसँग आगामी १० दिनभित्रै सम्झौता हुँदैछ । ‘प्रारम्भिक छनौटमा परेका कम्पनीहरुले विस्तृत योजना बुझाएका थिए, त्यसको अध्ययन सम्पन्न गरेर [&hellip;]</p>

काठमाडौं । भक्तपुर र ललितपुरको १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डिपिआर निर्माण २ हप्तापछि सुरु हुने भएको छ । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीका अनुसार भक्तपुर र ललितपुरको नयाँ शहरको डिपिआर बनाउने कम्पनीसँग आगामी १० दिनभित्रै सम्झौता हुँदैछ । ‘प्रारम्भिक छनौटमा परेका कम्पनीहरुले विस्तृत योजना बुझाएका थिए, त्यसको अध्ययन सम्पन्न गरेर सम्झौताको चरणमा पुगेका छौं’, खोखालीले विकासन्युजसँग भने ।

ती कम्पनीहरुसँग १० दिन भित्र सम्झौता गरेर डिपिआर अध्ययनको काम आरम्भ हुन लागेको हो । आयोजनाले ललितपुर र भक्तपुरमा १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउन ११ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेको थियो ।उत्कृष्ठ प्राबिधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतका विवरण पेश गरेर अब्बल ठहरिएको कम्पनीलाई डिपिआर निर्माणको जिम्मेवारी दिन लागिएको हो ।

नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । नयाँ शहर निर्माणका लागि तोकिएको क्षेत्रमा जमिनको कित्ताकाट र नयाँ भवन निर्माणमा रोक लगाईसकिएको छ ।

काठमाडौं आग्नेय
भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीम फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ ।दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

काठमाडौं नैऋत्य
१० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ ।

ठुलो शहरको काम पनि अन्तिम चरणमा
एक लाख रोपनी क्षेत्रफलमा फैलिने नयाँ शहरको डिपीआर बनाउने कम्पनी छान्न भने अझै करिब एक महिना लाग्ने इञ्जिनियर खोखालीले बताए ।

Share News