काठमाडौं । सेयर बजार बढेसँगै लगानीकर्ताले आकर्षण दुई वाणिज्य बैंकमा देखिएको छ । सोमबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । स्ट्याण्डर्डको प्रतिकित्ता १ हजार ३३ रुपैयाँमा २ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सोमबार २८ हजार ७११ कित्ता कारोबार भएको छ ।

आइतबार स्ट्याण्डर्डको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५० रुपैयाँ कायम भएकोमा सोमबार बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ । एक दिनको अन्तरालमा स्ट्याडर्ड चार्टर्ड बैंकका लगानीकर्ताले प्रतिकित्ता ८३ रुपैयाँ फाइदा गरेका छन् ।
स्ट्याण्डर्ड चाटर्डको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान लगानीकर्ताकाे छ । राम्रो बैंक र प्रतिफल पनि आर्कषक भएकाले लगानीकर्ताको आकर्षण स्ट्याण्डर्डमा बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौड्याल बताउछन् ।
गत वर्षको गरेको आम्दानीबाट सेयरधनीलाई सतप्रतिशत बोनस सेयर दिएपछि बिहीबार स्ट्याण्डर्डको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । शत्प्रतिशत बोनस सेयर वितरण गरेर स्ट्याण्डर्डले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएको छ ।
यस्तै प्रभु बैंकको बुक क्लोजको समय आएकाले सेयर किनबेच बढेको हो । सोमबार प्रभुको प्रतिकित्ता ३२५ मा ८२ हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । प्रभुको २ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । आइतबार प्रभुको प्रतिकित्ता १६० रुपैयाँमा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको थियो ।