सेयर बजार ओरालो लाग्नुपर्ने कारण छैन, अब बढ्छ-रौनियार

<p>काठमाडौं । मुलुकमा पाँच बर्षसम्म स्थायी सरकार गठन हुने, सरकारका आर्थिक नीतिहरुले निरन्तरता पाउने, विकास निर्माणका कामहरु द्रुतगतिमा अघि बढ्ने सुनिश्चितता भएको बेलामा बजार घटिरहेको छ । सेयर बजार भनेको सम्वेदनशिल क्षेत्र हो तर अब स्थिरता आउँदैछ भन्ने सन्देश फैलिईरहेका बेलामा बजार घटिरहेको छ । अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन् । बामपन्थी सरकारका कारण [&hellip;]</p>

छोटेलाल रौनियार, उपाध्यक्ष-इन्भेष्टर्स फोरम

काठमाडौं । मुलुकमा पाँच बर्षसम्म स्थायी सरकार गठन हुने, सरकारका आर्थिक नीतिहरुले निरन्तरता पाउने, विकास निर्माणका कामहरु द्रुतगतिमा अघि बढ्ने सुनिश्चितता भएको बेलामा बजार घटिरहेको छ । सेयर बजार भनेको सम्वेदनशिल क्षेत्र हो तर अब स्थिरता आउँदैछ भन्ने सन्देश फैलिईरहेका बेलामा बजार घटिरहेको छ । अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन् ।

बामपन्थी सरकारका कारण सेयर बजार घटेको त्रास पनि देखाउने प्रयास भैरहेको छ । बामपन्थीहरुले नेपालको इतिहासमा पहिलो पटक सरकार बनाउँदै छैनन् । यस अघि उनीहरुले पटक पटक सरकारको नेतृत्व गरिसकेका छन् । बामपन्थीहरुकै सरकार हुँदा सेयर बजारले उच्चतम विन्दुको रेकर्ड कायम गरेको थियो । बामपन्थीहरुले सरकार सञ्चालन गर्दा कुनै पनि समयमा सेयर बजार प्रतिकुल नीति ल्याएका छैनन् र अब पनि ल्याउने सम्भावना छैन् ।

वास्तवमा यतिबेला बजार घटाउन ब्रोकरदेखि सबै नियामकहरुको हात छ । सबै जना मिलेर बजार घटाउन लागिपरेका छन् । मारवाडी समुदायका लगानीकर्ताहरुले सेयर बेचे भन्ने हल्ला चलाईएको छ । हामीले त्यसरी सेयर बेचिरहेका छैनौं । मेरै कुरा गर्ने हो भने म आजसम्म पनि सेयर बेचिरहेको छैन् । हामी मारवाडीहरुले बामपन्थी सरकारसँग डराउनुपर्ने कुनै कारण नै छैन् । हामीले मात्रै होइन, कसैले पनि नयाँ सरकारसँग डराउनुपर्ने कारण छैन् ।

प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भयो । देश भर उत्साह छाईरहेको छ । वित्तिय क्षेत्रमा पनि निर्वाचनमा खर्च भएको पैसा बैंकिङ च्यानलमा आउँछ भन्ने थियो । त्यसले गर्दा तरलताको अभाव हटेर ब्याजदर कम हुने अपेक्षा पनि थियो । तर अवस्था त्यस्तो भएन, यतिबेला बैंकहरुले पनि ब्याजदरमा कार्टेलिङ गरिरहेका छन् । ब्याजदर घट्ने आस थियो तर त्यो अझै बढ्यो । बामपन्थीहरुको सरकार नबनेर काँग्रेस, माओवादी र मधेशवादीहरुको सरकार गठन हुने हल्ला पनि चलिरहेको छ । फेरी पनि सरकार अस्थिर नै बन्ने भयो भन्ने अलिअलि त्रास भने लगानीकर्तामा पक्कै पनि छ ।

त्यहि माथी तत्कालै नयाँ सरकार गठन पनि नहुने देखिएको छ । यस्ता सन्दर्भहरुले पनि बजार घटाउन केहि न केहि भूमिका खेलेकै छन् । त्यस्तै अहिले नेप्सेमा बोनस सेयर र राइट सेयर पनि धेरै मात्रामा सूचिकृत भएको छ । जसरी सेयरको आपुर्ति बढिरहेको छ, त्यसरी माग बढाउन नियामकहरुले पनि भूमिका खेलिरहेका छैनन् । धितोपत्र बोर्ड, केन्द्रिय बैंक, ब्रोकर, बैंकहरु सबैले मिलेर सेयर बजार घटाउन भूमिका खेलिरहेका छन् ।

हाम्रो सेयर बजार भनेको नाका बन्दी र भूकम्प थेगेको बजार हो । नाका बन्दी र भूकम्पले हल्लाउन नसकेको बजार अहिले किन अनावश्यक रुपमा घटिरहेको छ ? यो प्रश्नको उत्तर खोजिनुपर्छ । अहिले बिशेषगरि साना लगानी कर्ता पनि धेरै डराएका छन् । साना लगानीकर्ताहरु हल्लाको पछाडी लाग्छन् । बलियो कम्पनीको सेयर किनेर बस्यो भने कुनै समस्या छैन् ।

अर्काे कुरा भनेको सेयर बजार घटे पनि कारोबार रकम भने खासै घटेको छैन् । यसले पनि बजार तत्काल बढ्न सक्छ भन्ने सन्देश दिईरहेको छ । फेसबुकहरुमा बनाईएका ग्रुपहरु मार्फत पनि बजार घटाउने चलखेल भैरहेको छ । यस्ता ग्रुपहरुमा आउने अनावश्यक सन्देशबाट पनि हामीले जोगिनुपर्छ । सेयर बजार घट्नुपर्ने कुनै कारण छैन । अहिले बजार घट्नु भनेको अप्राकृतिक हो, त्यसैले बजार बढ्छ ।(कुराकानीमा आधारित)

Share News