काठमाडौं । नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ ।नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ५० पैसा तोकेको छ ।
एक महिनाअघि १ डलर बराबर १०४ रुपैयाँ २३ पैसा थियो । एक महिनामा नेपाली रुपैयाँ १ रुपैयाँ ७३ पैसा बलियो भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय अर्थतन्त्र बलियो हुदै गएका कारण भारु रुपैयाँ मजवुत भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो ।
नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो र डलर कमजोर हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६३ रुपैयाँ ९२ पैसा भारु बिक्री दर तोकेको छ ।
२०७४ असार मसान्तको तुलनामा २०७४ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.१ प्रतिशत अवमूल्यन भएको थियो । ०७४ कात्तिक मसान्तमा १ डलरकोे खरिद विनिमय दर १०४.०४ रुपैयाँ पुगेको छ ।
२०७४ असार मसान्तमा उक्त विनिमय दर १०२.८६ रुपैयाँ थियो ।गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । ५ वर्षअघि अर्थात सन् ०१२/०१३ मा १ डलर बराबर ८७ रुपैयाँ ९६ पैसा थियो । आजको दिनमा आउदा नेपाली रुपैयाँ डलरसंग साढे १४ रुपैयाँले अवमूल्यन भएको छ ।
डलर कमजोर हुदाका फाइदा
डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो ।
यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो ।
डलर कमजोर हुदाका वेफाइदा
आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।