काठमाडौं । वाणिज्य बैंकहरुले धेरै रकम मागेपछि नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपै बैंकिङ प्रणालीमा पठाउने भएको हो । आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि थप रकम पठाउन लागेको हो ।
आइतबार २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेका थिए । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ आइतबार बैंकलाई दिएको छ । राष्ट्र बैंककाअनुसार आइतबारसम्म बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।
अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र जारी गरेको हो । विकास ऋणपत्रको समयसम्म यो कायम हुने राष्ट्र बैंकले जनाएका छ । यो दीर्धकालिन तरलता प्रवाह हो ।
यता बैंकले मुद्दती निक्षेपको ब्याज दर नबढाउने आन्तारिक सहमति गरेका छन् । मुद्दतीको ब्याजदर बढ्दा कर्जा धेरै महंगो हुने भएपछि नेपाल बैंकर्स एसोसियसनको पहलमा बैठक गरी ब्याजदर अब नबढाउने सहमति गरेका हुन् ।
हाल मुद्धति निक्षेपमा १२.२५ प्रतिशतसम्म ब्याज दिने गरी बैंकले योजना ल्याएका छन् । बैंकले साधारण वचतमा भने ६ प्रतिशत हारहारीमा मात्र ब्याज दिइरहेका छन् । ब्याजदर बढेपछि यसको असर सेयर बजारमा पनि परेको छ ।
राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा अझै झण्डै साढे ३ खर्ब रुपैयाँ वचत रहेको छ । यो महिना अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ । यसले गर्दा बजारमा अझै लगानी गर्न पुँजीको संकट बढ्ने संभावना छ ।