काठमाडौं । ‘कोहिले फाइनान्स(सहकारी)को पैसा जग्गामा हाल्ने, जग्गा बेचेर सेयरमा पैसा हाल्ने रहेछन, अनि सेयर बजार ओरालो लागेपछि सेयर बजार जिन्दावाद भनेर धरहराबाट हाम फाल्दा रहेछन्, अहिले पो धरहरा छैन्’, यो कथा सुनाउने पात्र हुन लगानी कर्ता रामप्रसाद अमगाईँ ।

उनले अर्काे कथा पनि सुनाए–‘भक्तपुरका एक जना पासाले सेयरबाट करोड कमाए, अब अर्ब कमाउँछु भन्दै सेयर धितो राखेर ऋण लिए अनि फेरी सेयर किने । तर बजार ओरालो लागेपछि बैंकले मार्जिन कल गर्यो अनि पुरै सेयर बेचिदियो, अहिले पासा पुर्पुरोमा हात लगाएर बसेका छन् ।’
आइतबार कालिका सेक्युरीटीजमा करिब २० जना लगानी कर्ता देखिन्थे । उनीहरुका आँखा नेप्से इण्डेक्स र नजिकैको टेलिभिजनमा बराबर घुमिरहेको हुन्थ्यो ।
अर्का एक लगानीकर्ताले सोधे–यहाँ आउने एक जना विद्यार्थी कता हराए ? एक जना लगानीकर्ताले जवाफ फर्काए–विद्यार्थीले २८ सयमा साना किसानको सेयर किनेको रे, घटेर १४ सयमा आएछ, अहिले उमेरमै दारी पालेर हिडेका छन रे ।
अर्का लगानीकर्ता बोले–सेयर बजार ओरालो लाग्दा देशमा धेरै विद्धान मान्छेहरु बिग्रन्छन । उनको भनाईको आसय थिायो, सेयर बजार घट्दा धेरै मान्छे पागल हुन्छन् ।

निर्मल प्रधानले सेयर बजारमा गर्ने चलखेलको किस्सा पनि कालिका सेक्युरीटीजमा सुन्न पाइन्थ्यो । प्रधानले एक दिन कसरी बजार घटाएर सेयर किन्थे र अर्काे दिन कसरी मूल्य बढाएर बेच्थे भन्ने कथा सुनाईरहेका थिए । त्यहिबिचमा एक जनाले भने–अधिकांश ब्रोकरहरुमा महिला लगानी कर्ताहरुको संख्या घटेको देखिन्छ ।
ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको क्रिष्टल सेक्युरीटिज पुग्दा पनि एक दर्जन भन्दा बढि लगानी कर्ता नेप्से इण्डेक्स हेरिरहेका थिए ।
उनीहरुले भने आइतबार सेयर बजार घट्नुमा नेपाल टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई दोष दिए । ‘टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकले गर्दा आज सेयर बजार घट्यो’, क्रिष्टल सेक्युरीटिजमा भेटिएका लगानी कर्ताहरुले भनिरहेका थिए ।
सेयर बजारका लगानी कर्ताहरुलाई सरकार कहिले बन्छ भन्ने प्रश्नले पनि सताएको देखियो । उनीहरु भन्दै थिए–नयाँ सरकार फागुन दोश्रो साता मात्रै आउँछ रे, त्यतिञ्जेल यस्तै हो ।’ हाँसो र पिँडा मिश्रित हल्लाखल्लाका बिच लगानीकर्ताहरु बजार सुधारिनेमा भने आशावादी नै देखिएका छन् ।