
काठमाडौं । केही वाणिज्य बैंकसंग लगानीयोग्य पुँजी नभएपछि नेपाल राष्ट्र बैंकले बैंकको ऋणपत्र खरिद गरेर बजारमा पैसा पठाउने भएको छ ।
राष्ट्र बैंकले आउदो आइतबार बैंकसंग भएका विकास ऋणपत्र खरिद गरेर ५अर्ब रुपैयाँ बजारमा पैसा पठाउन लागेको हो । ऋणपत्र धितो राखेर लिने विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ ।
“केही बैंकमा लगानीयोग्य पुँजी नै नभएको देखियो” राष्ट्र बैंक स्रोतले भन्यो “पुँजीको तत्कालिन समस्यालाई समधान गर्न बैंकसंग भएको ऋणपत्र राष्ट्र बैंकले किन्ने भएको हो ।”
गत वर्ष पनि बजारमा लगानीयोग्य पुँजी नभएपछि राष्ट्र बैंकले ८ अर्ब ९४ करोड रुपैयाँको विकास ऋणपत्र सोझै खरिद गरेको थियो । बैंकिङ प्रणालीमा ३४ अर्ब रुपैयाँ थप तरलता भएपनि केही बैंकमा अभाव देखिएको राष्ट्र बैंकको भनाई छ ।
बजारमा लगानीयोग्य पुँजीको अभाव हुने संकेत देखिएपछि बैंकहरुले आफुसंग भएको व्यत्तिगत तथा संस्थापक ठुलो रकम निक्षेप बाहिरन नदिन मुद्धति निक्षेपको ब्याज दर बढाएर १२.२५ प्रतिशत पुर्याएका छन् । अधिकाँश बैंकको मुद्धति निक्षेपको ब्याज दर १० प्रतिशत पुगिसकेको छ ।
गत वर्ष लगानीयोग्य पुँजी कम हुदा बैंकले १४ प्रतिशत महंगो ब्याज दिएर उठाएको निक्षेप परिपक्व हुन लागेपछि यसलाई रोक्न ब्याज दर बढाएका हुन् ।