काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याज दर बढाएर १२.२५ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकबीच व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउन होडबाजी चलेको हो ।
केही दिनअघि मात्र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत बनाएको एक साता नबित्दै ग्लोबल आईएमई बैंकले १ वर्षका लागि स्पेशल ब्लक डिपोजिट भन्दै वार्षिक १२.२५ प्रतिशत ब्याज दिने गरी मुद्धति निक्षेप योजना ल्याएको छ । यसैगरी ग्लोबलले यो योजना बिहीबारदेखि नै लागु हुने जानकारी दिएको छ ।
यसैगरी सिभिल बैंकले बिहीबार बढाएर १२.२२ प्रतिशत पुर्याएको छ ।तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्दति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् ।
गत वर्ष लगानीयोग्य पुँजी नभएपछि बैंकले महंगो ब्याजमा व्यक्तिगत निक्षेप लिएका थिए । त्यसबेला यस्तो निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो ।सेयर बजार निरन्तर घटिरहेकाले त्यहाँबाट पाउने प्रतिफल ८ प्रतिशत भन्दा कम रहेका बेला लगानीकर्तालाई मुद्दति निक्षेपमा लगानी गरेर बढी प्रतिफल पाउने देखिएको छ ।
बैंकको बढ्दो ब्याज दर, बढी सेयर आपूर्ति र राजनीतिक अस्थिरता कायम रहेकाले सेयर बजार निरन्तर ओरालो लागेको छ । सिभिलले २२२ दिनका लागि यो योजना ल्याएको हो । न्युनतम ३ लाख रुपैयाँ हुनुपर्ने र यसको ८० प्रतिशतसम्म कर्जा पाउने सिभिलले जानकारी दिएको छ । अधिकाँश बैंकले छोटो अवधिका लागि भन्दै निक्षेप तान्न बढी ब्याज दिने योजना ल्याएका हुन् ।

एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल गत वर्ष बढी ब्याज दिएर लिएको निक्षेप परिपक्व हुदै गएकले त्यसलाई लक्षित गरेर यो योजना ल्याएको बताए । “बजारमा पुँजीको अभाव हैन, निक्षेप रोक्नका लागि यस्तो योजना ल्याएको हो” उनले भने ।
मुद्धति निक्षेपमा कम ब्याज दिदै आएको स्ट्याण्डर्ड चाटर्ड बैंकले समेत बुधबार बढाएर १० प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएको छ । कुमारी बैंकले पनि १ सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार ल्याएको छ ।
यस्तै सेन्चुरी कर्म्शियल बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् ।
राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् ।
तरलता अभावको सम्भावना कायमै भएकाले गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनु पर्ने बाध्यता भएको बैंकरले भनाइ छ । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ ।
केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी ४० अर्ब रुपैयाँ छ । पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको राष्ट्र बैंकको भनाई छ । केही बैंकमा लगानी योग्य पुँजी देखिइसकेको बैंकरको भनाई छ । सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईयो ) १५ प्रतिशत भन्दा कम ब्याजमा कर्जा दिन नसक्ने बताउछन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ । प्रभु बैंकले आधार ब्याज दर ९.८० र नविल बैंकको ७ प्रतिशत तल रहेको छ ।