काठमाडौं । आज नेपाल टेलिकमको सेयर बेच्नेहरु डुबेका छन् । सेयर किन्नेहरुलाई राम्रो फाइदा भएको छ ।
नेपाल टेलिकमले पुस १२ गते बुक क्लोज हुने सूचना पुस ९ गते पत्रिका मार्फत जनाएको थियो । सोहि सूचनाको आधारमा लगानीकर्ताले कम्पनीले दिने नगद लाभांश बुक गर्दै आज कम मूल्यमा सेयर बिक्री गरेको थिए ।

हिजो प्रतिकित्ता ८६० रुपैयाँमा कारोबार भएको टेलिकमको सेयर आज ८४३ मा कारोबार शुरु भएको थियो । कम्पनीले दिने ५५ रुपैयाँ नगद लाभांश बुक गर्दै धेरै लगानीकर्ताले प्रतिकित्ता ८११ रुपैयाँसम्ममा बेचेका थिए ।
बेच्नेहरुको लागि दुःखद खबर आयो र किन्नेहरुको लागि खुशीको खबर आयो । टेलिकमको बुक क्लोज पुस १६ गते मात्र हुने भयो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्–नेप्सेसँग टेलिकमले गरेको सम्झौता अनुसार बुक क्लोज हुने मितिभन्दा एक हप्ताअघि नै सूचना प्रकाशित गर्नु पर्ने थियो । तर ९ गते सूचना जारी गरेर १२ गते बुक क्लोज हुने जानकारी दियो ।
टेलिकमले सम्झौता उल्लंघन गरेको भन्दै टेलिकमलाई पत्र लेखेपछि टेलिकमले पुस ११ गते नेप्सेलाई पत्र लेख्दै बुक क्लोज १६ गतेदेखि ३० गतेसम्म रहने जानकारी दियो ।
तर नेप्सेले पुस १२ गते मात्र टेलिकमको पत्र पायो । ‘११ बजेपछि सूचना अपडेट भएको हो’ प्रबक्ता पराजुलीले भने ।
ढिलोगरी सूचना प्रकाशित भएको कारण वा सम्बन्धित कम्पनीको गलत सूचनाको कारण सेयर किनबेच गर्दा हुने नोक्सानीको बारेमा नेप्सेमा सूनुवाई हुने उनले बताए । ‘पुस १२ गते नेपाल टेलिकमको सेयर बेचेर नोक्सान भयो भन्दै पीडित आए भने त्यसको सुनुवाई हुन्छ’ प्रबक्ता पराजुलीले भने ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौलेले नेप्सेलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन् ‘नेप्से, लगानीकर्ता मर्कामा परे । टेलिकमले गरेको सूचनाको दुरुपयोग लगानीकर्ताको सहनशीलता बाहिर छ।’
नोक्सानमा परेकालाई क्षतिपूति दिने वा नदिने निर्णय गुनासो सुनुवाई समितिले गर्ने पराजुलीले बताए ।