काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सेयर संरचना बदल्न बीमा समितिले निर्देशन दिएको छ । समितिले ‘बीमकको संस्थापक शेयर कारोवार (खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६’ अनुसार बीमा कम्पनीमा संस्थापकको सेयर स्वामित्व ५१ प्रतिशत हुनैपर्ने व्यवस्था कार्यान्वयन गर्न मौखिक निर्देशन दिएको हो ।

हाल एभरेष्ट इन्स्योरेन्समा साधारण सेयरधनी मात्रै छन् । साधारण सेयरधनीकै रुपमा राजिव सापकोटाले कम्पनीको अध्यक्षता गरिरहेका छन् । एभरेष्टका संस्थापक लगानीकर्ताले संस्थापक सेयर कारोबार गर्ने सम्बन्धी निर्देशन आउनुअघि नै आफ्नो सेयर बेचेर साधारण सेयरमा परिणत गरिसकेका थिए ।
निर्देशन आएको करिब ९ बर्षपछि मात्रै समितिले कम्पनीलाई संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत कायम गराउन भनेको हो । ‘संस्थापक सेयर धनीको हिस्सा ५१ प्रतिशत कायम गराउन निर्देशन दिईसकेका छौं’, बीमा समितिका कानुन विभाग प्रमुख साम्भराज लामिछानेले विकासन्युजसँग भने ।
हाल १२ करोड १५ लाख चुक्ता पुँजी भएको इभरेष्ट इन्स्योरेन्सलाई नयाँ व्यवस्था अनुसार १ अर्ब रूपैयाँ पुँजी पुर्याउँदा ५१ प्रतिशत स्वामित्व कायम गराउन भनिएको हो । ‘अब कम्पनीले ७५ साल असार मसान्त भित्र १ अर्ब पुँजी पुर्याउँदा संस्थापकहरुको हिस्सा ५१ प्रतिशत बनाउनै पर्नेछ, र कम्पनीले त्यस्तो प्रतिवद्धता पनि व्यक्त गरिसकेको छ’, लामिछानले भने ।
एभरेष्टले चुक्तापुँजी बढाउन १ बराबर ६ अनुपातमा ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
एभरेष्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले संस्थापक सेयर संरचना कायम गराउनेबारे औपचारिक पत्र नआएपछि बीमा समितीसँग छलफल गरिएको बताए । ‘ समितिले सेयर स्वामित्वमा परिवर्तित व्यवस्था कसरी कायम गराउन सकिन्छ भनेर छलफल भएको छ’, गौतमले भने । उनले नियामक निकायले दिने विधिसम्वत निर्देशनहरु पालना गर्न कम्पनी तयार रहेको पनि स्पष्ट पारे ।