काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो ।
राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामानउत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशीकम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने इपानको अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।
‘दर्जनौं विदेशी तथा बहुरारष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने हाम्रो विश्वास रहेको छ’ मगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गुरागाईले भने ।
७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने आयोजक इपान नेतृत्वको दावी छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुस २२ गते बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुस २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् ।
हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा
यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ र ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।