काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी ढुकुटी असन्तुलित हुँदै गएको, बैंकहरुले दिनदिनै उच्च दरले व्याज बढाउन थालेको, तरलता संकट आउँदै छ भनेर बैंकर्सहरु डराउँदा बजारमा धेरै आशंका उत्पन्न भएको भन्दै बैकर्सहरुलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकहरुलाई नै वित्तीय साक्षरता आवश्यक देखिएको बताए । ‘एक हप्ताअघि बैंकहरुले १० प्रतिशत व्याजदरको विज्ञापन छापे, ५ दिनअघि साढे १० प्रतिशत व्याजको विज्ञापन छापे, तीन दिन अघि ११ प्रतिशत व्याजदरको विज्ञापन छापे, आज साढे ११ प्रतिशत व्याजदरको विज्ञापन छापियो’ आइतबार साँझ गुडविल फाइनान्स कम्पनीले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले भने–‘यो राम्रो अभ्यास होइन । बैंकको नेतृत्वमा बसेका जिम्मेवार व्यक्तिहरुले पनि बैकिङ नबुझेको जस्तो देखियो । बैंङ्कर्सहरु आफैले मार्केटलाई प्यानिक बनाईरहेका छन् ।’
बैकिङ बजारमा तरलताको समस्या नभएको उनको दावी छ । बैंकिङ क्षेत्रमा अहिले पनि ३२ अर्ब रुपैयाँ अधिक तरलता रहेको उनले भनाई छ ।
तर सरकारी ढुकुटीमा भने असन्तुलन देखिएको उनले बताए । चालु आर्थिक वर्षमा राजश्व आम्दानीले सरकारी खर्च धान्न नपुगेको भन्दै उनले भने-‘यो राम्रो संकेत होइन ।’
‘संघीयता कार्यान्वयन गर्नु पर्ने, स्थानीय निकायलाई बजेट निकासा गर्नु पर्ने अवस्थाले राजश्व आम्दानीले सरकारी खर्च धान्न पुगेको छैन’ उनले भने–‘यस्तो संवेदनशील अवस्थामा बैंकका निक्षेपकर्ता, ऋणी सबैलाई ढुक्क हुने वातावरण बनाउनुपर्छ । ठूलै संकट आउन लागे झै दिन दिनै कर्जा र निक्षेपको व्याज बढाउने र सर्वसाधारणमा के के न हुन लागे जस्तो सन्देश प्रवाह गर्ने काम गर्नु भएन ।’
पुस मसन्तमा सरकारी राजश्वमा पैसा धेरै जम्मा हुन जान्छ, एक वर्षअघि उच्च दरमा लिएको निक्षेप फिर्ता हुन सक्छ, त्यसले सीसीडी रेसियो असन्तुलिन हुन सक्छ भन्ने आँकनसहित बैकर्सहरु डराएको उनले बताए । ‘राष्ट्र बैंकले विकल्पहरुको बारेमा सोचिरहेको छ, तपाईहरु डराउनु पर्दैन’ उनले भने ।
सरकारको खातामा ३४८ अर्ब रुपैयाँ संचित रहेकोले सरकारलाई खर्च गर्न समस्या नभएको पनि उनले बताए । ‘विगत तीन वर्षदेखि सरकारले सबै आम्दानी खर्च गर्न नसकेर संचित हुँदै गएको रकम ३४८ अर्ब रुपैयाँ अझै खर्च भएको छैन । यो रकम खर्च बढ्दै गएको छ । बजारमा तरलता आउँछ’ उनले भने ।
तरलता अभाव सम्बन्धी डर वित्त कम्पनी तथा विकास बैंकहरु भन्दा केही वाणिज्य बैंकहरुमा धेरै देखिएको उनले बताए । ‘वाणिज्य बैंकहरुको भूमिकाले विकास बैंक र वित्त कम्पनीलाई पनि तर्साउने अवस्था सिर्जना भईराखेको छ’ उनले भने–‘नेपाल बैंकस संघ, विकास बैंकर्स संघ, वित्त कम्पनी संघ लगायतका संस्थाहरुबीच समन्वय गरी स्थायीत्व कायम गर्न सहयोग आवश्यक छ ।’
उनले बैंकहरुलाई रोजगारी सिर्जना गर्ने, उद्यमशिलता विकास गर्ने क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे । उनले १८ प्रतिशत वयस्कले बैकिङ सेवा प्रयोग गर्न नजानेको बताएका छन् । ‘उनीहरुले कुनै पनि प्रकारको वित्तीय संस्था सेवा लिएका छैनन्, उनीहरुको पहँुचमा वित्तीय सेवा पुगेको नै छैन’ डेपुटी गभर्नर श्रेष्ठले भने ।
‘आई एम एमबीए एप’ सार्वजनिक

गुडविल फाइनान्सले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम सार्वजनिक गरेको छ । झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र पहुँच वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । स्कूल तहदेखि विद्यार्थीलाई ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि आई एम एमबीएको एप र पुस्तक तयार गरी सार्वजनिक गरिएको उनले बताए । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरेका छन् ।
साथै सामाजिक दाहित्वको रुपमा फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्रमा राखिने मेयर विद्यासुन्दर शाक्यले बताए ।