काठमाडौं । एनएमबी बैंकले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बैंकले केही महिनाभित्रै एफपीओ निष्कासनको तयारी गरेको छ ।

एफपीओको प्रिमियम मूल्य तय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । एफपीओको मूल्य अहिले यति मूल्य हुन्छ भनेर भन्न नसकिने उनले जानकारी दिए ।
एनएमबीको प्रतिसेयर मूल्य ४६९ रुपैयाँ छ । हाल नियामक धितोपत्र बोर्डसंग यस विषयमा छलफल भइरहेको केसीले जानकारी दिए ।
सीईओ केसीले केही महिनाभित्र ल्याउनु पर्ने अवस्था रहेको भन्दै छिट्टै एफपीओ निष्कासन गर्ने बताए । “नियामक धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ” उनले भने “स्वीकृति पाउन साथ एफपीओ निष्कासनको प्रक्रिया सुरु गर्नेछौ ।”
बैंकले १ करोड १४ लाख १५ हजार १६२ कित्ता एफपीओ निष्कासनका लागि गत जेठ २२ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । एफपीओ निष्कासनपछि बैंकका चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । चालु आवको पहिलो त्रैमाशमा एनएमबीले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गत आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।