काठमाडौं । मुलुकको अन्य आर्थिक परिसुचक सकरात्मक भएपनि भुक्तानी सन्तुलन र विप्रेषण अप्रवाह ऋणात्मक भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा १.४ प्रतिशतले कमी आई २ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएपछि रेमिट्यान्स वृद्धि ऋणात्मक भएको हो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनाको आर्थिक परिदृष्य सार्वजनिक गर्दै यस्तो अवस्था देखाएको हो ।
यस्तै चालू खाता एवम् शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा ऋणात्मक भएको छ । चालु आवको कात्तिकसम्म शोधानान्तर वचत २५ अर्ब ८१ करोड रुपैयाँ ऋणात्मक भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको ४ महिनामा शोधानान्तर १ अर्ब ८६ करोड रुपैयाँ बचतमा थियो ।
निर्यात भन्दा आयातमा उच्च वृद्धिको अलावा विप्रषेण आप्रवाहमा समेत कमी आएकोले चालू खाता घाटामा गएको हो । विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले मुलुकको वाह्य क्षेत्रको अवस्था मजबुत नै रहेको छ ।
हालसम्म उपलब्ध आर्थिक तथ्याङ्कबाट आर्थिक तथा वित्तीय परिदृष्य मिश्रित रहने देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । निर्माण कार्यले गति लिएको, व्यक्तिगत घर, होटल तथा जलविद्युत आयोजनाको निर्माण बढ्दो क्रममा रहेको छ ।
यस्तै सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एम.एस विलेट तथा रड जस्ता निर्माण सामग्रीको आयातमा भएको वृद्धिबाट निर्माण कार्यले तीव्रता लिएको केन्द्रीय बैंकको भनाई छ ।
सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद देखिएको छ । औद्योगिक कच्चापदार्थको आयात र उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृष्य सकारात्मक रहेको देखिन्छ ।
पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । पर्यटक आगमनसँगै होटलहरुको अकुपेन्सीदरमा भएको वृद्धि एवम् होटल निर्माण कार्यले लिएको गतिले पर्यटन क्षेत्रको सकारात्मक परिदृष्य इङ्गित गर्दछ । पछिल्ला महिनाहरुमा न्यूनस्तरमा रहेको मुद्रास्फीति २०७४ कात्तिक महिनामा केही बढेको छ ।