काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका ३ वटा आयोजनाकाे बिजुली खेर जाने भएकाे छ ।
कूल ५७ मेगावाट क्षमताका ३ आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारणलाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन् ।
झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ ।
आर्थिक वर्ष २०६२/६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ । सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ ए, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेका छन्र । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
काबेली ‘बी’ एकको लगानी र ४ अर्ब ३० करोड, तल्लो हेवाको लगानी ४ अर्ब तथा इवा खोलाको लगानी १अर्ब ६० करोड रूपैया छ । काबेली ‘बी’ एको करिब ९८ प्रतिशत काम सम्पन्न भएको छ । सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगे पनि प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने स्थिति निम्तिएको गुनासो गरे ।
प्राधिकरणले १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या भएको उनकाे भनाइ छ । करिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकतामा नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले प्राधिकरणले ठेकेदारलाई प्रभावकारीरुपमा काममा लगाउन नसकेकामा आपत्ति जनाएका छन् ।
काबेली ‘बी’ अरुण काबेली पावरले निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख पोखरेलले प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा समस्या परेको बताए। पेनस्टक पाइप र मेशिन जडानको काम भइरहेको छ भने आयोजना निर्माण सम्पन्न हुन लागे पनि प्रसारण लाइनको अभावमा समस्या भएको छ ।
कूल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला निर्माण सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । स्थानीय थापाटारमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । निजी ऊर्जा उद्यमीले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधैँ समस्या मात्रै देखाउने र समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् ।
यता प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिइसकेकाे जानकारी दिए । प्राधिकरणले स्थानीय प्रशासनले काममा सहयोग नगरेको गुनासो गरेको छ ।
प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयवासीले चित्त बुझाएका छैनन् । जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ । प्राधिकरणले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग जग्गाको मुआब्जाको विषयमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरिसकेको छ । तर काम किन शुरु हुन नसकेको हो सो बारेमा प्राधिकरणले स्पष्ट जानकारी दिन सकेको छैन ।
रासस