काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घोषित÷अघोषित कुनै किसिमको विद्युतभार काटौती (लोडसेडिङ) नभएको स्पष्टपारेको छ । विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेको भन्दै विद्युत प्राधिकरणको लोडसेडिङको संभावना नरहेको जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार प्रेश विज्ञप्ति जारी गरी अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको जानकारी गराएका छन् ।
प्राविधिक समस्याका कारण कही कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको उनले बताएका छन् । आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको उनले बताएका छन् ।
हिउँद लागेसँगै नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर माग बढ्ने तर सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा पनि व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरणले प्रतिबद्ध व्यक्त गरेको छ ।
गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ नगर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले जानकारी दिएका छन् ।
यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । नपुग करिब ३ सय मेगावाट औद्योगिक ग्राहकमा तीन घण्टा विद्युत कटौती गरेको जनाएको छ ।
यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको उनले घिसिङले जानकारी दिएका छन् ।
हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारणलाइन संरचनाबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारतबाट सहयोग पाइरहेका उनले स्पष्टपारेका छन् ।
विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आफ्नो तर्फबाट सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।