काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गर्न पाउने भएको छ । कोषले सबैभन्दा बढी प्रतिकित्ता २५१ रुपैयाँमा किन्ने प्रस्ताव गरेपछि अधिकाँश सेयर उठाउन पाउने देखिएको हो । कोषले लिलामीमा राखिएको सबै सेयर किन्न आवेदन दिएको थियो ।

बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दरले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । बढी मूल्य कबोल गरेपछि संचय कोषले ६१ लाख ५० हजार कित्ता संस्थापक सेयर खरिद गर्न पाउने भएको हाे । १० हजारको हारहारीमा व्यक्तिगत लगायत अन्य आवेदन दिनेले खरिद गर्न पाउने भएका छन् ।
प्रारम्भीक नतिजाअनुसार ९१७ आवेदकले संस्थापक सेयर खरिद गर्न आवेदन दिएकोमा ८९० जना आवेदकले किन्न पाएनन् । २६ जना सेयरधनीको भागमा करिब ९ हजार कित्ता सेयर परेको छ । उनीहरुले २५० रुपैयाँदेखि ३८० रुपैयाँसम्ममा सेयर कबुलेका थिए । बाँकी सबै संचय कोषले पाएको सेयर बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सेयर लिलामीबाट लगभग १ अर्ब ५५ करोड रुपैयाँ जुटेकाे छ ।
संस्थागत रुपमा संस्थापक सेयर किन्नका लागि आवेदन दिनेमा एसियन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । एसियनले प्रतिकित्ता १८६ रुपैयाँमा ३ लाख २२ हजार ५ सय कित्ता १८६ रुपैयाँमा माग गरेको छ । नेकोले १३० रुपैयाँमा २ लाख ५५ हजार माग गरेको छ ।
यस्तै आइएमई इन्भेष्टमेन्ट लिमिटेडले २ लाख २५ हजार २१३ कित्ता, वल्र्ड वाइड इन्भेष्टमेन्ट कम्पनीले २ लाख ५ हजार २१२ कित्ता सेयर माग गरेको छ । हिमालयन जनरल इन्स्योरेन्सले १५० रुपैयाँका दरले २ लाख कित्ता माग गरेको छ ।
बैंकले संस्थापक ५१ र सर्वसाधारणको सेयर अनुपात ४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकलाई अझै एक अर्ब ७६ करोड रुपैयाँ पुँजी जुटाउनु पर्ने हुन्छ । संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो ।