काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारणसभाले टुरिजम बैंकलाई गाभ्नका लागि अनुमति दिएको हो ।

सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेका मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।
टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए । चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए ।