काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि उद्योगले पुस २५ गतेको दोस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीले कुल जारी पुँजीको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने शिवमले जनाएको छ । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अन्य सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् ।
उद्योगले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी लगानी संरचना तयार पारेको छ । गतवर्ष धितोपत्र बोर्डले उत्पादन मुलकलगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । उसले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने पाउने छ ।
उद्योगले १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि प्रवन्धपत्र नियमावली संशोधनको प्रस्ताव सभामा लैजाने भएको छ । यस्तै हाल जारी भई मौज्दात रहेको सेयर कम्पनीमा कायम रहेका सेयरधनीले नलिने भएपछि जारीपुँजी ५ अर्ब रुपैयाँलाई घटाएर ३ अर्ब ७० करोड रुपैयाँ कायम गरिने भएको छ ।
यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ ।
शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।
चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।