राधी विद्युत कम्पनीले संचित कोषकाे नाफा जलविद्युतमा लगानी गर्ने

<p>काठमाडौं । निजी क्षेत्रकाे राधी विद्युत कम्पनी लिमिटेडले संचित कोषमा जम्मा भएको नाफा जलविद्युतमा लगानी गर्ने भएको छ । गत आर्थिक वर्षसम्म कम्पनीको कुल संचित नाफा ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । चालु आवमा संचित नाफा बढेर १४ करोड ९० लाख रुपैयाँ पुग्ने छ । आगामी आव ०७६/०७७ मा कम्पनीको संचित कोष बढेर [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रकाे राधी विद्युत कम्पनी लिमिटेडले संचित कोषमा जम्मा भएको नाफा जलविद्युतमा लगानी गर्ने भएको छ ।

गत आर्थिक वर्षसम्म कम्पनीको कुल संचित नाफा ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । चालु आवमा संचित नाफा बढेर १४ करोड ९० लाख रुपैयाँ पुग्ने छ । आगामी आव ०७६/०७७ मा कम्पनीको संचित कोष बढेर २९ करोड ८४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

संचित कोषमा रहेको नाफा सेयरधनीलाई वितरण नगरी नयाँ आयोजनामा सेयरको रुपमा लगानी गर्ने कम्पनीका अध्यक्ष विनय भण्डारीले बताए ।

उनका अनुसार राधिले संचित रकम ११ मेगावाटको दोर्दीखोला, ११ मेगावाटको तल्लोखारे, ४२ मेगावाटको कसुवाखोला र ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनामा सेयरको रुपमा लगानी गर्ने छ । कम्पनीको वर्षेनी नाफा बढ्दै जाने देखिएको छ ।

राधीले सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ ।

गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

Share News