काठमाडौं । आन्तरिक राजश्व विभागले सबै ब्रोकर कम्पनीहरुसँग भ्याट असुल्ने स्पष्ट पारेको छ । विभागका प्रवक्ता प्रवक्ता यज्ञ प्रसाद ढुंगेलले सबै ब्रोकरहरुले भ्याट तिर्नुपर्ने दावी गरे । ‘अहिले तीन वटा कम्पनीको कर निर्धारण गरेर पत्र काटेका छौं, बाँकी ब्रोकर कम्पनीहरुको कर निर्धारण भैरहेको छ, उनीहरुले पनि भ्याट तिर्नु पर्छ’, विभागका प्रवक्ता ढुंगेलले विकासन्युजसँग भने ।
उनले विद्यमान कानुन अनुसार सबै ब्रोकरसँग कर असुल उपर हुने र नयाँ नीतिगत व्यवस्था आएपछि भने सोही बमोजिम हुने पनि स्पष्ट पारे । ‘अहिलेको कानुनी व्यवस्था अनुसार सबै ब्रोकरसँग भ्याट असुल्छौं, नयाँ नीतिगत निर्णय भएपछि सोही बमोजिम हुन्छ, चित्त नबुझ्नेहरु पुनरावलोकनमा जान सक्छन्’ प्रवक्ता ढुंगेलले भने ।
विभागले सुन्धारा सेक्युरीटिज, सेवा सेक्युरिटिज र इन्भेष्टमेन्ट मेनेजमेन्टलाई आव २०६९।७० देखि गत आवसम्मको भ्याट बुझाउन पत्र काटिसकेको छ । विभागले केहि दिन अघि मात्रै पत्र काटेर आगामी १५ दिनभित्र भ्याट र जरिवाना दस्तुर समेत बुझाउन भनेको हो ।
तीन वटा ब्रोकर कम्पनीले २ करोड ९० लाख रुपैंयाँ भ्याट, जरिवाना र ब्याज बुझाउनुपर्छ । कर कार्यालयले ब्रोकर कमिसनमा भ्याट लगाएपछि ब्रोकर एसोसियसनले कर हटाउन दबाब दिँदै आएको छ । ब्रोकर एसोसियसनले अर्थ मन्त्रालयसँग पटक पटक छलफल गरिसकेको छ ।