काठमाडौं । नियमित रुपमा बिजुली आपूर्ति भएपछि नेपालमा औद्योगिक क्षमता उपयोग र उत्पादनमा वृद्धि भएको छ । उद्योगले औसतमा ५७.३ प्रतिशत क्षमता उपयोग गरेका छन् ।
अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.२ प्रतिशत मात्र थियो । क्षमता उपयोग बढेपछि उत्पादनमा पनि सुधार आएको छ ।
गत वर्षदेखि नियमित उर्जा आपूर्ति, बन्द हड्ताल लगायतका आपूर्तिजन्य अवरोधमा कमी, पुनर्निर्माणका कारण निर्माणजन्य सामग्रीको माग बढेको र औद्योगिक श्रम सम्बन्धमा सुधार भएका कारण उद्योगहरुको क्षमता उपयोगमा वृद्धि आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सबैभन्दा बढी क्षमता उपयोग गर्नेमा पश्मिना उद्योग भएका छ । पश्मिनाको ९८.५, वियरको ८२.१, चाउचाउको ७९.१ र प्रशोधित चिया उत्पादन गर्ने उद्योगको ७८.६ प्रतिशत क्षमता उपयोग भएको छ । अघिल्ला वर्ष यी उद्योगको क्षमता उपयोग क्रमशः ८८, ६२.८, ८३.३ र ६५.५ प्रतिशत मात्र थियो ।सबैभन्दा कम क्षमता उपयोग गर्नेमा चामल उद्योग रहेको छ । चामल उद्योगले २८.८, चिनी उद्योग ३१.२ र इँटा उत्पादन गर्ने उद्योगले ३५.७ प्रतिशत गरेका छन ।
औद्योगिक उत्पादनमध्ये वनस्पति घिउ तथा तेल समूह, पेय पदार्थ समूह, लत्ता कपडा समूह, कागज, अन्न तथा पशुदाना समूह अन्य रसायनिक पदार्थ समूह, प्लाष्टिकजन्य उत्पादन, गैरधातु खनिजजन्य उत्पादन तथा फ्रेबिकेटेट धातुको सामानको उत्पादनमा वृद्धि भएको छ ।
दुग्धपदार्थ, अन्य खाद्य पदार्थ समूह, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार र जुत्ताको उत्पादनमा ह्रास आएको छ । वनस्पती घिउ तथा तेल समूहको उत्पादन ३९.२, समग्र पेय पदार्थको उत्पादन २७.२,लत्ता कपडाको उत्पादन २८.८ प्रतिशतले वृद्धि भएको छ । अन्न तथा पशुदाना समुहको उत्पादन १९.४ प्रतिशतले वृद्धि भएको छ ।
अन्य खाद्य पदार्थ समूह अन्तर्गत विस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ । चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५.३ प्रतिशतले ह्रास आएको छ । तयारी कपडा समूहको उत्पादन ३२.९ प्रतिशतले घटेको छ । रंगको उत्पादनमा २६, साबुनको उत्पादनमा ३२.३, इँटाको उत्पादन १२.२ र सिमेन्ट उत्पादन ५८.३ प्रतिशतले बढेको छ ।
यसैगरी, फलामको छड तथा पत्ति र जिआई तारको उत्पादनमा क्रमशः १०९.३ र ८२.२ प्रतिशतले वृद्धि भएको छ । घरेलु धातुका सामान उत्पादनमा ३.८, जुत्ताको उत्पादनमा १७.५ प्रतिशत ह्रास आएको छ । प्रशोधित छालाको उत्पादनमा ९.७, चिरेको काठको उत्पादनमा २०.८, बिजुलीको तार र केबलको उत्पादनमा १०.९ प्रतिशत कमी आएको छ ।
कागज उत्पादनमा २८.८, रोजिनको उत्पादन १२.५ र समग्र औषधिको उत्पादनमा औसतमा १७.१ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत रुपमा विश्लेषण गर्दा काठमाडौमा मुख्यतया प्रशोधित दूध, हल्का पेय पदार्थ, पस्मिना, चाउचाउ, रंग, औषधी, जुत्ताको उत्पादन हुने गरेको छ ।
विराटनगरमा वनस्पती घिउ तथा तेल, चिनी, चाउचाउ, चिया, जुटका सामान, प्लाष्टिकका सामान, फलामको छड तथा पत्ति, धातुका उपकरण, सिमेन्ट आदिको उत्पादन प्रमुख छ ।

जनकपुरमा चिनी, मदिरा, कागज, ईटा, सिमेन्ट आदिको उत्पादन हुने गरेको छ । वीरगञ्जमा वनस्पति घिउ, तेल, प्रशोधित दूध, पशुदाना, चिनी, हल्का पेय पदार्थ, चुरोट, छाला, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी र पोखरामा विस्कुट, चाउचाउ, रवरजन्य वस्तुको उत्पादन हुने गरेको छ ।
सिद्धार्थनगरमा गहुँको पिठो, पेय पदार्थ, औषधि, सिमेण्ट उत्पादन हुने गरेको छ । नेपालगञ्जमा तोरीको तेल, चामल, सिमेण्ट उत्पादन हुने गरेको छ । धनगढीमा गहुँको पिठो, रोजिन, साबुन लगायतका वस्तुहरुको उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा उर्जा आपूर्तिमा सुधार भएको, कच्चा पदार्थको सहज उपलव्धता रहेको तथा पुनर्निर्माण कार्यले लिएका गतिबाट उद्योगहरुको क्षमता उपयोगमा थप विस्तार हुने अनुमान गरिएको छ ।
प्रादेशिक तथा केन्द्रीय स्तरको चुनाबमा सरकारी खर्चमा हुने वृद्धिबाट चाउचाउ, चकलेट, वियर र हल्का पेय पदार्थ जस्ता वस्तुहरुको माग बढ्न गई उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा मौसमी अनुकुलता रहेका कारण कृषि उत्पादनमा वृद्धि हुन गई चामल, पिठो, दाल र तेल जस्ता कृषिजन्य उत्पादनमा आधारित उद्योगहरुको उत्पादन समेत बढ्ने अनुमान गरिएको छ ।
सरकारले उखुको मूल्य निर्धारणमा गर्ने ढिलाई तथा चिनी उद्योगहरुले विगत वर्षहरुको उखुको मूल्य किसानहरुलाई भुक्तानी नगरेबाट किसानको उखु खेतीमा आकर्षण घट्न गई चिनी उत्पादन भने घट्ने देखिन्छ । पुनर्निर्माण प्राधिकरणबाट भूकम्प पिडितहरुलाई दोस्रो तथा तेस्रो किस्ताको रकम वितरणमा ल्याएको तीव्रता, भत्किएका सरकारी संरचनाहरुको पुनर्निर्माण कार्यले लिएको गति लिएको छ ।
भर्खरै सम्पन्न स्थानीय तहरुको निर्वाचन पश्चात् गठित स्थानीय तहहरुले आप्mनो क्षेत्रमा पूर्वाधार विकास निर्माणमा वृद्धि गर्ने लगानीबाट निर्माणजन्य सामाग्री इँटा, सिमेन्ट, फलामे छड तथा पत्ति लगायका उत्पादन बढ्न जाने देखिन्छ