
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबारदेखि बिक्री खुला हुने भएको छ ।
राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो ।
सेयर निष्कासन पुस ६ गते बन्द हुने कम्पनीका अध्यक्ष विनय भण्डारीले जानकारी दिए ।
धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको थियो ।
४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ ।
संस्थापक सञ्चालक तथा आयोजना क्षेत्रका स्थानियबासिन्दालाई आईपीओ जारी भइसकेकाले उनीहरु यो खरिद प्रक्रियामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ ।
गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।