औद्योगिक कर्जा विस्तार, बैंक तथा वित्तीय संस्थाले गरे ६३७ अर्ब लगानी

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाको औद्योगिक कर्जा २१ प्रतिशतले विस्तार भएको छ । अघिल्लो वर्षको तुलनामा औद्योगिक कर्जा बढेर ६ खर्ब ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो कर्जा ५ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँ थियो । यस्तै ०७२ मा औद्योगिक कर्जा ४ खर्ब ३१ अर्ब २६ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको औद्योगिक कर्जा २१ प्रतिशतले विस्तार भएको छ । अघिल्लो वर्षको तुलनामा औद्योगिक कर्जा बढेर ६ खर्ब ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्ष यस्तो कर्जा ५ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँ थियो । यस्तै ०७२ मा औद्योगिक कर्जा ४ खर्ब ३१ अर्ब २६ करोड रुपैयाँ थियो । वर्षेनी औद्योगिक कर्जा बढ्दै गएका देखिएको छ । समीक्षा अवधिमा प्रवाहित कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश ३२.४ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले गरेको गत वर्षको आर्थिक गतिविधिको अध्ययनले औद्योगिक क्षेत्रले विस्तारै गति लिएको देखाएको हाे । केन्द्रीय बैंककाअनुसार कृषि, वन तथा पेय पदार्थ एवम् गैर खाद्यवस्तु शीर्षकमा १३.८, निर्माण क्षेत्रमा २३.१, पर्यटन उद्योग÷सेवा शीर्षकमा ३२.५, विद्युत, ग्याँस तथा पानी शीर्षकमा ३६, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक शीर्षकमा ३४.३ र खानी सम्बन्धी उद्योगमा १८.२ प्रतिशत कर्जा वृद्धि भएको छ ।

यसरी प्रवाहित मध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी अर्थात् ४५ प्रतिशत कर्जा प्रवाह भएको छ । सबैभन्दा न्यून अर्थात् ०.६ प्रतिशत कर्जा खानी उद्योगमा प्रवाह भएको छ । निर्माण उद्योगमा ३१.२, पर्यटनमा ९.९, विद्युत, ग्याँस तथा पानीमा ९.१, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ४.२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

कुल औद्योगिक कर्जा लगानीमा काठमाडौ क्षेत्रको सबैभन्दा बढी छ । काठमाडौं क्षेत्रमा यसको अंश ५८.९, विराटनगरमा ११.४, वीरगञ्जमा ९.२, पोखरामा ६.७, सिद्धार्थनगरको ६.४, नेपालगञ्जको ३.४, धनगढीको २.२ र जनकपुरको अंश १.८ प्रतिशत छ ।
सबैजसो ठूला बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमै रहदा कुल कर्जामा काठमाडौ क्षेत्रको अंश उच्च देखिएको हो ।

 

Share News