काठमाडौं । मेगा बैंकले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा बढाएर ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैंककी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्ष ०७४/०७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ विपन्न वर्गमा लगानी गर्ने बताएकी हुन् ।

मेगाको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग गरेको अन्तरक्रिया कार्यक्रममा कामु सिइओ खुञ्जेलीले भनिन्-‘अहिलेसम्म हामीले विपन्न वर्गका लागि २ अर्ब ४६ करोड रुपैँया लगानी गरिसकेका छौं । बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भैसक्नेमा हामी ढुक्क छौं ।’
बैंकको मूल लक्ष्य नै हलोदेखि हाइड्रोसम्म लगानी गर्ने भएको भन्दै उनले विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिम समेत न्यून भएकाले बैंकले लघुवित्तलाई प्राथमिकता दिएको बताइन।
कार्यक्रममा लघुवित्त विज्ञ डा. नरहरि ढकालले लघुवित्त संस्थाले संचालन खर्च कम गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । लघुवित्त विज्ञ मेघराज गजुरेलले लघुवित्त संस्थाले कर्मचारीको उत्पादकत्व बढाउनुपर्ने बताए ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले विगत २५ वर्षदेखि बाणिज्य बैंकले लघुवित्त संस्थालाई गरेको थोक कर्जा शतप्रतिशत असुली भएको जानकारी दिए । थोक कर्जामा कुनै जोखिम नभएको भन्दै उनले ढुक्क भएर लघुवित्त संस्थाहरुमार्फत विपन्न वर्गमा कर्जा लगानी गर्न वाणिज्य बैंकहरुलाई आग्रह गरेका छन् ।
मेगाका लघुवित्त इकाईका प्रमुख प्रकाश पोखरेलका अनुसार, लघुवित्तलाई प्राथमिकता दिने उद्देश्यले मेगा बैंकले लघुवित्त इकाइ नै स्थापना गरेको छ । मेगा बैंकका देशभर छरिएका ४७ वटा शाखामा लघुवित्त इकाइ अन्तर्गत ७५ जना कर्मचारीहरु कार्यरत छन् ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई अनिवार्य रुपमा ५ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न निर्देशन दिएको छ । तर, मेगाले अहिले नै करिब ७ प्रतिशत लगानी गरिसकेको जानकारी िदएकाे छ । चालु आर्थिक बर्षको अन्त्यसम्म यसलाइ बढाएर १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।