२ वर्षपछि बुटबल पावरको आम्दानी भारी घट्ने, लगानीकर्ताको लाभांशमा पनि कटौती हुने

<p>काठमाडौ । आगामी २ वर्षपछि बुटबल पावर कम्पनी लिमिटेड (बीबीसी) को आम्दानीमा भारी गिरावट आउने भएको छ । ६० मेगावाटको खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावर लिमिटेडबाट वर्षेनी पाउँदै आएको ४० करोडदेखि ५० करोड रुपैयाँ बराबरको लाभांशमा भारी गिरावट आउने भएपछि बीपीसीको आम्दानी घट्ने भएको हो । आम्दानीमा कमी आएपछि लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने [&hellip;]</p>

काठमाडौ । आगामी २ वर्षपछि बुटबल पावर कम्पनी लिमिटेड (बीबीसी) को आम्दानीमा भारी गिरावट आउने भएको छ । ६० मेगावाटको खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावर लिमिटेडबाट वर्षेनी पाउँदै आएको ४० करोडदेखि ५० करोड रुपैयाँ बराबरको लाभांशमा भारी गिरावट आउने भएपछि बीपीसीको आम्दानी घट्ने भएको हो । आम्दानीमा कमी आएपछि लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने छ ।

२ वर्षपछि अर्थात सन् २०२० जुलाईमा हिमाल पावरले निर्माण गरेको खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा जाने छ । सोही समयदेखि हिमाल पावर र विद्युत प्राधिकरणबीच अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को म्याद सकिने भएपछि करोडौ रुपैयाँ आम्दानी गुमाउने भएको हो ।

खिम्तीको आधा स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण र डलर पीपीएको म्याद सकिएर नेपाली मुद्रामा कम दर रेट कायम भएपपिछ बीपीसीले हिमाल पावरबाट हाल पाउदै आएको वार्षिक ५० करोड रुपैयाँ लाभांश घटेर केही करोडमा सीमित हुनेछ ।
त्यसपछि लगानीकर्ताले पाउने लभांशमा भारी गिरावट आउनेछ । हिमाल पावरबाट पाउने ५० करोड रुपैयाँ लाभांशले बीपीसीको नाफा बढेर वार्षिक २८ प्रतिशत हारहारीमा लाभांश वितरण गर्दै आएको छ ।

२ वर्षपछि बीपीसीले खिम्तीबाट प्राप्त हुने न्युन लाभांश र ९.४ मेगावाटको आँधिखोला, १२ मेगावाटको झिम्रुक र ४ मेगावाटको खुदी हाइड्रोपावर लिमिटेडबाट पाउने लाभांशमा मात्र निर्भर हुने छ । यी आयोजनाबाट धेरै आम्दानी नहुने भएपछि नाफामा कमी आउने देखिएको छ ।

नयाँ आयोजना नबनाएर हिमाल पावरमा मात्र निर्भर रहदा सन् २०२० पछि बीपीसीले लगानीकर्तालाई लाभांश नै दिन नसक्ने अवस्था देखिएको छ । खिम्तीको प्रवद्र्धक हिमाल पावरमा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । बीपीसीले हिमालबाट वार्षिक औसत न्युनतम् ४० करोडदेखि बढीमा ५० करोड रुपैयाँ लाभांश पाउँदै आएको छ ।

आयोजनाको आधा स्वामित्व प्राधिकरणमा गएपछि हालको पीपीए सम्झौता पनि सकिनेछ । नयाँ पीपीए सम्झौता हुने भएपछि हिमाल पावरबाट बीपीसीले पाउने लाभांशमा पनि भारी गिरावट आउनेछ ।खिम्ती आयोजना बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) रहेको छ ।

हिमाल पावर बीपीसी, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १०४ रुपैयाँ पुगेको छ ।

सरकारले सांग्रिला इनर्जी लिमिटेडलाई ९६ करोड रुपैयाँमा बीपीसीको ७० प्रतिशत सेयर बेचेको हो । यसमा सांग्रिलाको ६८.९५ प्रतिशत, सर्वसाधारणको १०, सरकारको ९.९, इन्टरकास्ट नेपालको ६, युनाइटेड मिसन टु नेपालको २.७९, कर्मचारीको २ र प्राधिकरणको १ प्रतिशत सेयर छ ।

५ वर्षमा बीपीसीले १ हजार मेगावाट बिजुली उत्पादन गर्ने

केहि वर्ष बीपीसीको आम्दानीमा गिरावट आएपनि पाँच वर्षको लक्ष्य सम्पन्न भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने अवस्था आउने देखिन्छ । आगामी पाँच वर्षपछि बीपीसीले चीनियाँ कम्पनीको साझेदारीमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ चीनियाँ लगानी ल्याउनेछ ।

आफनो लगानीमा बीपीसीले ३७.६ मेगावाटको कावेली ए आयोजना कावेली इनर्जी लिमिटेड र ३० मेगावाटको न्यादी आयोजना न्यादी हाइड्रोपावर लिमिटेडमार्फत बीपीसीले निर्माण गरिरहेको छ । यी दुबै आयोजना ३ वर्षमा सम्पन्न हुदैछन् ।

बीपीसीले जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना भएको छ ।

तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको सिचवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एसजीआई) ५१ र छेन्दु सिनचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्योङ इन्जिनियरिङ कनसल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचना तयार पारेको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।

यस्तै सहायक कम्पनीमार्फत बीपीसीले १०८ मेगावाट क्षमताको तल्लो मनाङमस्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । यो आयोजनामा चीनियाँ लगानी हुने छ । सानो आयोजनामा मात्र बनाउन नहुने मान्यताका आधारमा जविद्युतमा ठुलो लगानी भित्राउने तयारी भएको उनको भनाई छ ।

 

 

 

Share News