काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले २ खर्ब ४४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकोमा मंसिरसम्म ३३.४३ प्रतिशत उठाएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ ।

आर्थिक वर्ष सुरु भएको दुई महिनामा सोचेअनुसार राजश्व संकलन नभएपछि लक्ष्य भन्दा कम असुली भएको छ । राजश्व संकलन कम भएपछि सरकारले खर्च व्यवस्थापन गर्न ५ महिनामा १ खर्ब ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।
यस्तै समीक्षा अवधिमा सरकारले ३ खर्ब ३८ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको २६.४७ प्रतिशत हो । चालु आवका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
यसमध्ये चालु खर्च ३६.३० प्रतिशत भएको छ । चालु आवमा ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म २ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ भएको महालेखाले जनाएको छ ।
यस्तै पुँजीगत खर्चको अवस्था भने निराशाजनक छ । चालु आवको ५ महिनामा पुँजीगत खर्च १० प्रतिशत भन्दा न्युन भएको छ । हालसम्म ३१ अर्ब ५३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । चुनावले गर्दा पुँजीगत खर्च सोचेअनुसार भएको छैन् ।
वित्तीय व्यवस्थापनअन्र्तगत १५ अर्ब ४१ करोड रुपैयाँ मात्र खर्च भएको छ । चालु आवमा यसअन्र्तगत १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।