काठमाडौं । रसुवा जिल्लाका २४ परिवार भूकम्प पीडितका लागि नुवाकोटमा एकिकृत नमुना बस्ती निर्माण सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रसुवाको डाडागाउँका २४ परिवार भूकम्प पीडितलाई नुवाकोटको शान्ति बजारमा एकिकृत नमुना बस्ती बनाएर सार्न लागेको हो । उनीहरुका लागि प्राधिकरणले प्रति परिवार २ लाख रुपैंयाँ तिरेर घडेरी खरिद गरेर लालपुर्जा समेत हस्तान्तरण गरिसकेको प्राधिकरणका नापी शाखा प्रमुख कमल घिमिरले विकासन्युजलाई जानकारी दिए ।
सो एकिकृत नमुना बस्तीमा प्राधिकरणले नै सडक, बत्ति, खानेपानी, ढल लगायतका अन्य पुर्वाधारहरुको निर्माण गरिदिनेछ । हाल प्राधिकरणले सो एकिकृत नमुना बस्तीको डिजाइन तयार गरिरहेको छ । आगामी एक हप्ता भित्र रसुवाकै बोगटीटारमा ४७ परिवार र नुवाकोटको शान्ति बजारमा छेउमै २१ परिवारका लागि एकिकृत नमुना बस्ती निर्माणको प्रक्रिया अघि बढ्ने पनि घिमिरेले जानकारी दिए ।
एक हप्ताभित्र नै सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि पनि एकिकृत नमुना बस्ती निर्माणको कार्य आरम्भ हुने उनले बताए । प्राधिकरणले नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई खरानीटारमा एकिकृत नमुना बस्ती निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सो स्थानमा हाल कित्ता काट तथा नक्सांकनको काम भैरहेको छ ।
एकीकृत वस्ती बिकास सम्बन्धी कार्य्बिधी अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ ।
२०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौं बैठकले जोखिमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो ।
यो पनि पढ्नु होस