काठमाडौं । सर्वोच्च अदालतले साँसद नवराज सिल्वालले तत्कालिन प्रहरी नायव महानिरिक्षक (डीआईजी) हुदा बुझाएको विवरण त्रुटीपुर्ण भएको ठहर गर्दे थप अनुसन्धान गरी कार्वाही गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले त्रुटी देखिएको भन्दै कार्वाहीका लागि आदेश दिएको हो । सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद हुन् ।
सर्वोच्चले सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको हो । सर्वोच्चले लोकसेवा आयोग लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन सिलवालले कसरी पाए ? भन्ने प्रश्न उठाउँदै सर्वोच्चले सो विवरण केरमेट गरी अदालतमा प्रस्तुत गरेको विषयमा अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको हो ।
गत भदौ २७ गते फैसला सुनाएको थियो । सोको पूर्णपाठमा सर्वोच्चले गोप्य रहने कार्यसम्पादन फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषीलाई कारबाही चलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका नाममा आदेश जारी गरेको छ । फैसलाको पूर्णपाठमा सिलवालले आफू प्रहरी प्रमुख हुनका लागि नक्कली कार्यसम्पादन मूल्यांकन पेश गरेको ठहर गरिएको छ ।