काठमाडौं । बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे)को तलब, भत्ता र सुविधा सम्बन्धी नीति खुकुलो बनाएको छ । नयाँ नीतिलाई बीमकहरुले ‘राम्रो’ भएको जनाएका छन् भने यस क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि उत्साहित देखिएका छन् ।
नयाँ नीतिअनुसार बीमा कम्पनीका कार्यकारी प्रमुखहरुको तलब सुविधा १२६ प्रतिशतसम्मले वृद्धि हुने भएको छ । ‘हाल जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले तलव भत्ता बढीमा मासिक ३ लाख ७५ हजार रुपैयाँसम्म पाउँदै आएका छन्’ बीमा समिति सम्बद्ध उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने–‘नयाँ नीति अनुसार सीईओहरुले ८ लाख ५० हजार रुपैयाँसम्म तलब सुविधा पाउने छन् ।’

कम्पनीहरुले कार्यकारी प्रमुखलाई तलब र सुविधा बाहेक तलब सुविधाको ७० प्रतिशत रकम कार्यसम्पादनमा आधारित सुविधा मार्फत थप आर्थिक लाभ दिन सक्छन् । कार्यसम्पादनमा अाधारित सुविधासहित बीमा कम्पनीका सीर्इअाेहरूले १४ लाख ४५ हजार रूपैयाँसम्म पाउन सक्ने देखिएकाे छ ।
बीमा क्षेत्रको मनोबल बढाउन र प्रतिस्पर्धी जनशक्तिलाई बीमा क्षेत्रमा आकर्षित गर्ने लक्ष्यसहित नयाँ मार्गदर्शन जारी गरिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए ।
‘हामीले कार्यसम्पादनको आधारमा सेवा सुविधा आकर्षित हुने नीति लिएका दिएका छौं’ विकासन्युजसँग कुरा अध्यक्ष चापागाईले भने–‘कम्पनीको सम्पत्ति पनि बढाउने, सबै कर्मचारीको तलब सुविधा पनि बढाउने, राम्रो काम गर्ने प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधा पनि राम्रो नै हुने गरी मार्गदर्शन जारी गरेका छौं ।’
बीमा समितिले जारी गरेको नयाँ मार्गदर्शन वैज्ञानिक रहेकाे र एक कदम अगाडि बढेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘सीए बढ्दा कम्पनीको उच्च व्यवस्थापकको तलब, सेवा, सुविधा निर्धाराण कसरी हुन्छ भनेर पढेका थियौं । उक्त सैद्धान्तिक आधार र कार्यसम्पादन नतिजाका आधारमा तलब, भत्ता र अन्य सुविधा तोकिएको छ’ झा भन्छन्–‘नयाँ कम्पनीका कार्यकारी प्रमुखले पनि राम्राे तलब सुविधा पाउने देखियो भने पुराना र बलिया कम्पनीले पनि धेरै बढी सुविधा लिन नसक्ने देखियो ।
बीमा समितिले मंगलबार कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन जारी गरेको हाे। त्यसमा बीमकको अघिल्ला तीन वर्षको कुल कर्मचारी खर्चको ६ प्रतिशतसम्म प्रमुख कार्यकारी अधिकृतले पाउने छन् । त्यस्तै जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले तीन आर्थिक वर्षको कुल सम्पत्तिको शुन्य दशमलव १ प्रतिशत र निर्जीवन बीमा कम्पनीले कुल सम्पत्तिको शुन्य दशमलव ५ प्रतिशतसम्म तलब लिन पाउने छन् ।
दुई मापदण्ड मध्ये जुन कम हुन्छ, सोहीलाई आधार मानेर सीईओको तलव सविधा तय गर्नु पर्ने बीमा समितिको मार्गदर्शनमा उल्लेख छ । ‘कुल कर्मचारी खर्चको ६ प्रतिशत वा कुल सम्पत्तिको शुन्य दशमलव १ प्रतिशत मध्ये जुन कम हुन्छ’ भन्ने व्यवस्थाका कारण पुराना र ठूला कम्पनीका कार्यकारी प्रमुखको तलब वृद्धिको दायरा धेरै फाकिलो नभएको झाको भनाई छ ।
समितिले कर्मचारी खर्चको परिभाषा पनि फाराकिलो बनाएको छ । ‘कर्मचारी खर्च भन्नाले कार्यकारी प्रमुखसहित सम्पूर्ण कर्मचारीको बार्षिक तलब, भत्ता, चाडपर्व खर्च, कर्मचारी सञ्चय कोषमा थप रकम, तालिम खर्च, पोशाक, औषधोपचार, बीमा, पेन्सन, उपदान खर्च तथा व्यवस्था, बिदाबापतको खर्च तथा व्यवस्था, पुरस्कार, ओभर टाईम, पर्फर्मेन्स बोनस, प्रोत्साहक सुविधा (इन्सेन्टिभ) र कर्मचारी सेवा सर्त विनियमावलीमा उल्लेख भएको कर्मचारीले प्राप्त गर्ने रकम तथा सुविधा सम्झनु पर्नेछ’ मार्गदर्शनमा उल्लेख छ । कर्मचारी भन्नाले स्थायी, अस्थायी, करार, ज्यालादारी सबै कर्मचारी जनाउने बीमा समितिले प्रष्ट पारेको छ ।
नयाँ कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुले ५ लाख २५ हजार रुपैयाँसम्म तलब सुविधा लिन सक्ने छन् । ‘उद्योग औषत (इन्डस्ट्री एभरेज) मासिक ३ लाख ५० हजार रहेको छ । नयाँ कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतहरुलाई इन्डस्ट्री एभरेजकाे १५० प्रतिशतसम्म तलब सुविधा दिन सक्छन्’ समिति स्रोतले भन्यो ।
उल्लेखित आधारमा तोकिने तलब सुविधा बाहेक तलब तथा भत्ताको ७० प्रतिशतसम्म इन्सेन्टेभ दिन पाइने छ । त्यस्तै, बोनस ऐनले तोकेको सीमाभित्रको बोनस सीईओले पाउने छन् ।
इन्सेन्टिभ तोक्दा खुद नाफा वा अडरराइटिङ मुनाफालाई आधारित बनाउनु पर्नेछ । इन्सेन्टिम तलब भत्ता भन्दा ४० प्रतिशत भन्दा बढी भएमा कम्पनीको प्रर्फर्मेन्सका आधारमा तीन वर्षपछि मात्र भुक्तानी गर्नु पर्नेछ । कम्पनीको पर्फर्मेन्स राम्रो नभएको उक्त इन्सेन्टिभ वितरणा गर्न नपाउने मार्ग दर्शनमा उल्लेख गरिएको छ ।
मार्गदर्शन समयसापेक्ष र बीमा क्षेत्रको विकासमा सहयोग पुग्ने खालको भएको बीमक संघका महासचिव तथा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कार्यकारी प्रमुख युगेशभक्त बादे श्रेष्ठले बताए ।
यसअघि सीईओको तलब सबैभन्दा कम तलव खाने कर्मचारीको भन्दा १५ गुणा बढी हुने उल्लेख थियो । साधारणसभाबाट पास गरेमा २५ गुणासम्म वृद्धि गर्न सकिने थियो । ‘पुरानो नीति भन्दा अहिलेको मार्गदर्शनमा धेरै सुधार छ । यसले कम्पनीलाई पनि बलियो बनाउन र कर्मचारीको मनोबल बढाउन सहयोग पुग्छ’ महासचिव श्रेष्ठले भने ।
अन्य सुविधा
सीईओलाई कम्पनीले एक सेट मोर्वाइल, ल्यापटप, ल्याण्डलाईन टेलिफोन, सवारी चलाउन आवश्यक इन्धन, चालक खर्च, पत्रपत्रिका र व्यवसायिक सदस्यताको लागि बार्षिक तलब भत्ताको १ प्रतिशत थप रकम दिन पाउने छ ।
तोकिएको सुविधा नपाउने सीईओ
उक्त मार्गदशर्न अनुसार केही सीईओहरुले तलब सुविधा नपाउने भएका छन् । बीमा समितिले समस्याग्रस्त घोषण गरेका कम्पनी, सरकारले नियुक्त गर्ने प्रमुख कार्यकारी वा विदेशी कम्पनीका कार्यकारी प्रमुखका लागि उक्त नियम लागू नहुने समितिले जनाएको छ ।