काठमाडौं । ‘म निर्दाेष छु’ भन्ने प्रमाण पेश गर्ने भनेको आरोप लागेपछि मात्रै हो । तर यतिबेला सैंयौं लगानी कर्ताले ‘आफु निर्दाेष’ रहेको प्रमण पत्र पेश गरिरहेका छन् । प्रशंग हो बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयर लिलामीको । बैंकले मंसिर २२ गतेदेखि २९ गतेसम्मको अवधी तोकेर ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर न्युनतम १०० रुपैंयाँ मूल्यमा खरिद गर्न आव्हान गरिरहेको छ ।
यो सेयर खरिदका लागि लगानी कर्ताहरुले कर तिरेको आम्दानी मात्रै उपयोग गर्न पाउँछन र त्यस्तो कर तिरेको आम्दानीको प्रमाण पत्र समेत पेश गर्नु पर्छ ।त्यति मात्रै होइन, लगानी कर्ताले कर्जा सूचना केन्द्रबाट कालो सूचिमा नपरेको प्रमाण समेत पेश गर्नु पर्छ । त्यसका लागि प्रत्येक लगानी कर्ताले ३ सय रुपैंयाँको बैंक भौचर तिरेर ३ दिनपछि मात्रै केन्द्रबाट कालो सूचिमा नपरेको प्रमाणित कागजात प्राप्त गर्न सक्छन् ।
‘बैंक अफ काठमाण्डूको सेयर किन्ने मन थियो तर व्यक्तिको कर चुक्ताको प्रमाण पत्र पेश गर्न र आयश्रोत देखाउन नसक्ने भएकाले आवेदन दिइन, त्यस्तो कागजात बनाउनै मुस्किल छ’, सेयर बजारका लगानी कर्ता ज्योति दाहालले भने । उनले आवेदक सेयर खरिद गर्न योग्य हो की होइन भनेर सम्बन्धीत कम्पनीले नै छुट्याउनुपर्नेमा पनि जोड दिए ।

दाहाल जस्तै धेरै लगानी कर्ताले आयश्रोत, कर चुत्ताको प्रमाण पत्र लगायतका कारणले सेयर खरिदका लागि आवेदन दिएका छैनन् । ‘यस्तो व्यवस्थामा कसले सेयर किन्न आवेदन दिन सक्छ ? धेरैले त यी सर्त अनुसारका कागजात जम्मा गर्नै सक्दैनन्, नेपालको कर प्रशासनबाट त्यस्तो प्रमाणपत्र लिनै सकिन्न’, दाहालले भने । त्यति मात्रै होइन, बैंकबाट लिइएको ऋणबाट समेत बिओकेको सेयर खरिद गर्न नपाइने व्यवस्था छ ।