बामपन्थी सरकारः अब कता जान्छ सेयर बजार ?

<p>काठमाडौं । मंसिर २० गते बुधबारका दिन सेयर बजार ११.६७ अंकले बढेर १४३६.५४ पुगेर रोकियो । बिहिबार ४५ जिल्लामा दोश्रो चरणको निर्वाचन भयो र यतिबेला धमाधम निर्वाचनको परिणाम आईरहेको छ । निर्वाचनले आगामी पाँच बर्षका लागि बामपन्थीहरुको सरकार गठन हुने निश्चित देखाएको छ । सेयर बजार प्रति अनुदार मानिँदै आएका बामपन्थीहरुको सरकार गठन हुने निश्चित [&hellip;]</p>

काठमाडौं । मंसिर २० गते बुधबारका दिन सेयर बजार ११.६७ अंकले बढेर १४३६.५४ पुगेर रोकियो । बिहिबार ४५ जिल्लामा दोश्रो चरणको निर्वाचन भयो र यतिबेला धमाधम निर्वाचनको परिणाम आईरहेको छ । निर्वाचनले आगामी पाँच बर्षका लागि बामपन्थीहरुको सरकार गठन हुने निश्चित देखाएको छ । सेयर बजार प्रति अनुदार मानिँदै आएका बामपन्थीहरुको सरकार गठन हुने निश्चित भएसँगै अब सेयर बजार कता जान्छ भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ ।

‘स्थिर सरकारका कारण अर्थतन्त्र सुधार हुने भएकाले सेयर बजार पनि सुधार हुने अपेक्षा गरेका छौं, सरकारको नीति पनि अब छिटो छिटो परिवर्तन नहोला त्यसले गर्दा सेयर बजार पनि उकालो नै लाग्ने आस छ’, एक सेयर ब्रोकरले भने । उनले बामपन्थी सरकारसँग सेयर बजार डराउनुपर्ने कुनै कारण नभएको पनि बताए । नेपालको नेप्से इन्डेक्स बामपन्थी सरकारहरुकै पालामा उच्चतम विन्दु कायम भएको इतिहास पनि उनले सुनाए ।

सेयर बजार बामपन्थी सरकारका कारण नभएर आफ्नै स्वभाविक विकासक्रमका कारण भने घट्ने वा बढ्ने अवस्था आउने पनि उनले बताए । सेयर बजारका जानकार ज्योति दाहालले पनि बामपन्थी सरकारका कारण सेयर बजारमा तात्विक असर नपर्ने बताए । उनले बामपन्थीहरुको घोषणा पत्रमा सेयर बजारबारे खासै उल्लेख नगरिएकाले तत्काल सरकारात्मक वा नकारात्मक प्रभावको अपेक्षा राख्न अवस्था नरहेको दावी गरे । बाम सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने उनको भनाई छ । तर पनि सेयर बजारमा मनोवैज्ञानिक त्रास भने उत्पन्न हुन सक्ने बताए ।‘बापमन्थी सेयर बजार प्रति निरपेक्ष देखिन्छन्, न सुधार्ने योजना देखिन्छ न त बिगार्ने नै । यद्यपी लगानी कर्तामा मनोवैज्ञानिक त्रास आउन सक्छ । तर डराउनुपर्ने अवस्था रहनन’, दाहालले भने ।

तर बजारमा बैंक तथा वित्तिय संस्थाहरुको बोनस सेयर धमाधम आउने क्रममा छ । लाइफ र नन लाइफ बीमा कम्पनीहरुको हकप्रद सेयरको बाढी नै आउँदैछ । केहि कम्पनीहरुले प्रीमियम मूल्यमा एफपिओ नै जारी गर्दैछन् । केहि बैंकहरुको हकप्रद सेयरको आवेदन अझै खुल्ला रहेको छ । धेरै जलविद्युत कम्पनीहरु आइपीओ निष्काशनको तयारीमा जुटेका छन् । यसैबिच, बैंकहरुले ब्याजदर तत्काल घटाउने अवस्था पनि नरहेको विश्लेषकहरु बताउँछन् । महंगो ब्याजमा ऋण लिएर सेयर बजारमा लगानी गर्ने अवस्था नरहेकाले पनि सेयर बजारमा अपेक्षित सुधार आउन नसक्ने अनुमान गरिएको छ ।

त्यसो त अब गठन हुने बामपन्थी सरकारको आर्थिक नीति हेर्ने सम्भावित पात्रका रुपमा रहेका डा. युवराज खतिवडा देखिन्छन् । उनी रियलस्टेट र सेयर बजार प्रति सकारात्मक सोँच नभएका अर्थशास्त्री मानिन्छन् । खतिवडा नेतृत्वको विज्ञ समुहले तयार पार्ने आर्थिक नीतिले पनि सेयर बजारलाई खासै प्रोत्साहन दिने छैन् । बामपन्थी सरकारले सेयर बजारलाई सुधार्न कुनै ठोस कदम नचाले पनि बिगार्ने प्रयास पनि नगर्ने भने पक्का छ । खुल्ला बजार अर्थतन्त्रका पक्षपातीहरु सरकारमा आएपछि मात्रै सेयर बजार उकालो लाग्छ भन्ने मान्यतालाई शेर बहादुर देउवा नेतृत्वको सरकारले गलत सावित गरिसकेको छ ।

काँग्रेस सभापति शेर बहादुर देउवाले सरकार सम्हालेको ६ महिने अवधीमा सेयर बजार करिब ७५ अंकले घटेको देखिन्छ । त्यसकारण पनि बामपन्थी सरकारका पालामा सेयर बजारमा कुनै असर नपर्ने विश्लेषकहरु बताउँछन् ।

Share News