काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको करिब आधा घण्टा उकालो लागेको नेप्से परिसूचक त्यसपछिको कारोबारमा भने ओरालो लागेको हो । सो दिन बजार बन्द हुँदा नेप्से परिसूचक १०.९० अंकले ओरालो लागेर १५२६.७७ अंकमा झरेको छ ।
बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । १५७ कम्पनीको कारोबार भएको सोही दिनको बजारमा जम्मा ५४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा जम्मा १० लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।
दोहोरो अंकले ओरालो लागेको बजारमा दुई समूहको बाहेक अन्य बाँकी ८ समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०४ अंकले ओरालो लागेको छ । उता होटल र उत्पादनमूलक समूहको परिसूचक भने क्रमशः १८.९३ र ५.३५ अंकले उकालो लागेका छन् । सोमबार जम्मा १० समूह कारोबारमा आएका थिए ।
बजारमा सबैभन्दा बढी यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ५.२७ प्रतिशत गुमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७६ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ७१ रुपैयाँ घटी हो ।