फागुन अघि काठमाडौं धुलो मुक्त नहुने, मेलम्चीले तत्काल सडक पिच नगर्ने

<p>काठमाडौं । धुलोमुक्त हुने राजधानी बासीको सपना फागुन महिना अघि पुरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम ९० प्रतिशत सम्पन्न गरेको भएपनि खनिएका सडकमा कालोपत्रे गर्ने काम भने भर्खरै १३ किलोमिटर मात्रै सम्पन्न गरेको छ । न्युनतम ४ मिटर देखि ७ मिटर चौडाई भएको ११० किलोमिटर सडक खनेर मेलम्ची खानेपानी आयोजना [&hellip;]</p>

काठमाडौं । धुलोमुक्त हुने राजधानी बासीको सपना फागुन महिना अघि पुरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम ९० प्रतिशत सम्पन्न गरेको भएपनि खनिएका सडकमा कालोपत्रे गर्ने काम भने भर्खरै १३ किलोमिटर मात्रै सम्पन्न गरेको छ । न्युनतम ४ मिटर देखि ७ मिटर चौडाई भएको ११० किलोमिटर सडक खनेर मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले पाइप बिछ्याएको थियो । तर सो मध्ये १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

बाँकी ९७ किलोमिटर सडकमा भने फागुनपछि मात्रै कालोपत्रे हुनेछ । ‘हामीले ठेक्का त गत साल नै लगाएका थियौं तर जाडो महिनामा पिच गर्न नमिल्ने भएपछि फागुनपछि मात्रै काम अघि बढ्छ’, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिाला प्रसाद ढकालले भने । आयोजनाले ११० किलोमिटर सडक पिच गर्न ८८ करोडको ठेक्का लगाएको थियो । पाइप बिछ्याउने तथा प्रेसर जाँच्ने काम ढिला भएकाले पिच गर्न पनि ढिलाई भएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईले वितरण प्रणालीको ६७० किलोमिटर र थोक वितरण सञ्जालका लागि ७६ किलोमिटर पाइप बिछ्याउने योजना रहेको छ । सोमध्ये थोक वितरण प्रणालीको ६५ किलोमिटर र खुद्रा वितरण प्रणालीको ६२५ किलोमिटर पाइप बिछ्याईसकेको छ । बाँकी रहेको पाइप बिछ्याउने काम आगामी २ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

मेलम्चीले भत्काएको ७ मिटर बढि चौडाई भएका सडक भने सडक विभागले खानेपानी मन्त्रालयबाट बजेट लिएर कालोपत्रे गर्नेछ । ६७० मिटर सडकमध्ये ५६० किलोमिटरमा भने पाइप बिछ्याउँदा नै पिच गर्ने वा पुर्ने व्यवस्था गरिएको थियो । ‘साना पाइप बिछ्याउने ठाउँमा त्यतिबेलै सडक पुर्ने वा कालोपत्रे गर्ने व्यवस्था थियो । सोही अनुसार पाइपलाई पुर्णरुपमा पुरेर फिनिसिङ गरिसकिएको छ’, ढकालले भने ।

Share News