काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा अंकुश लगाउँदा पनि भारतमा प्याजको आपूर्ति सहज बन्न सकेको छैन ।

एक साताअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले घरेलु बजारमा प्याजको आपूर्ति सहज गर्ने भन्दै बाहिर निर्यात हुने प्याजको न्यूनतम मूल्य तोक्ने निर्णय गर्यो । निर्यातमा अंकुश लगाउँदा नेपाल लगायतका छिमेकी मुलुकमा प्याजको मूल्य आकाशिरहेको बेलामा विहिबार भारतको संयुक्त उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले आफ्नो विफलता स्विकारेका छन् ।
नेपाली बजारमा पछिल्लो एक महिनामा प्याजको मूल्य प्रति किलो ५४ प्रतिशतले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाअघि प्रति किलो ६४ रुपैयाँ पुगेको प्याजको भाउ अहिले ९९ रुपैयाँ पुगेको छ ।
मंसिर ७ गते भारतका उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले ट्विट गर्दै घरेलू बजारमा प्याजको आपूर्ति बढाउन र निर्यातलाई निरुत्साहित गर्न प्याजको न्यूनतम मूल्य प्रति टन ८५० अमेरिकी डलर तय गरेको जानकारी दिएका थिए । निर्यातमा अंकुश लगाउँदापनि भारतका दिल्ली, महाराष्ट्र जस्ता प्रमुख सहरमै प्याजको आपूर्ति सहज नबनेपछि सरकारले हार मानेको छ ।
टाइम्स अफ इण्डियासँग बोल्दै पासवानले भने, ‘माग र आपूर्तिबीच ठुलो अन्तर छ । मैले तपाईंहरुलाई तथ्यगत कुरा भनेको छु । प्याजको मूल्य अब हाम्रो हातमा रहेन ।’
एशियाकै सबैभन्दा ठुलो प्याज मण्डी लसलगाँउमा बुधबार प्याजको भाउमा १८ प्रतिशतले गिरावट आएको थियो । यद्यपी भारतका अन्य स्थानमा प्याजको आपूर्ति सहज बन्न सकेको छैन । पासवानले केन्द्र र प्रान्त बसेर यो समस्याको समाधान खोज्नुपर्ने स्पष्ट पारेका छन् ।
गत आर्थिक वर्षको तुलनामा प्याजको उत्पादन क्षमतामा ह्रास आएको पासवानले जानकारी दिए । उनका अनुसार गत आवमा २.६५ हेक्टर क्षेत्रफलमा प्याज खेती गरिएकोमा यसपाली घटेर १.९ लाख हेक्टर पुगेको छ ।
भारतबाट नेपालमा खपत हुने लगभग ९९ प्रतिशत प्याज आयात हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।