काठमाडौं । सुन साढे ३ सातायताकै सस्तिएको छ । साताभरमा सुनको भाउ ६ सय रुपैयाँले ओरालो लागेको छ । साताको दोस्रो दिन उकालो लागेपनि सुनको साताभरमा ६ सय रुपैयाँले घटेको हो ।

रोयटर्सका अनुसार डिसेम्बरको मसान्ततिर अमेरिकाको केन्द्रिय बैंक फेडेरल रिजर्भ बैंकले ब्याजदर बढाउने अपेक्षा बढेपछि लगानीकर्ताले सुनमा लगानी घटाएका छन् । अन्तराष्ट्रिय बजारमा विहिबार प्रति औंस १२ सय ७४ अमेरिकी डलर रहेको सुनको भाउ शुक्रवार १२ सय ७० प्रति औंस पुगेको छ ।
अन्तराष्ट्रिय बजारको प्रभाव नेपाली सुन बजारमा परेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ सय रुपैयाँले सस्तिएको छ । विहिबार पनि तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि उती मूल्यमा सस्तिएको छ । साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलाको १ सय रुपैयाँले बढेको थियो। मंगलबार सुनको भाउ स्थिर रह्यो। बुधबार सुनको भाउ १ सय रुपैयाँले सस्तियो भने विहिबार फेरि घट्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५५ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५५ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
महासंघका अनुसार आइतबार सुन तोलामा ५६ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुनको भाउ तोलाको ५६ हजार १ सय रुपैयाँ पुगेको थियो भने बुधबार ५६ हजार रुपैयाँ कायम भएको थियो।
साता भरमा चाँदीको भाउ १० रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।