काठमाडौं । यो वर्ष अधिकाँश प्राथमिक सेयर (आईपीओ) जलविद्युत कम्पनीको आउने भएका छन् । केही वर्षअघि बैंक तथा वित्तीय संस्थाको मात्र आईपीओ निष्कासन हुने गरेकोमा पछिल्ला समयमा जलविद्युत कम्पनीको आईपीओ निष्कासन बढेको छ ।

हालसम्म १९ जलविद्युत कम्पनीले आईपीओ र थप निष्कासन (एफपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
यी मध्ये राधी विद्युत कम्पनी लिमिटेड र पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन् । १९ जलविद्युतको ८ अर्ब ३५ करोड १९ लाख ३२ हजार रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ । यी सबै आईपीओ चालु आर्थिक वर्षभित्र निष्कासन हुदैछन् ।
यसमध्ये बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को २ अर्ब रुपैयाँ बराबरको ४१ लाख ८० हजार कित्ता एफपीओ बजारमा आउने तयारीमा छ । तत्काल आउनेमा बीपीसीको एफपीओको आउने छ । बीपीसीले ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजना बनाउन एफपीओ निष्कासन गर्न लागेको हो ।
यसका अतिरिक्त रसुवागढी हाइड्रोपावर लिमिटेडको १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता, अपरतामाकोसी हाइड्रोपावर लिमिटेडको २ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ६५ हजार कित्ता आईपीओ आउने छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि र १११ मेगावाट क्षमताको रसुवागढीले पहिलो चरणमा संचय कोषको संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै पञ्चकन्यमाई हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानियबासिन्दाका लागि ११ करोड रुपैयाँको ११ लाख कित्ता र राधी विद्युत कम्पनी लिमिटेडले सवैसाधारणलाई ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने भएका छन् ।
न्युनतम १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर दिनुपर्ने भएपछि जलविद्युत कम्पनीले आईपीओ र नयाँ जलविद्युत आयोजना बनाउन थप लगानी जुटाउन एफपीओ निश्कासनमा लागेका हुन् । धितोपत्र निश्कासन नियमावलीमा जलविद्युत क्षेत्रले न्युनतम १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था गरेपछि थप १५ प्रतिशत निष्कासन गर्न लागेका हुन् ।
यस्तै सान्जेन जलविद्युत कम्पनी लिमिटेडले संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्देछ । सान्जेनले ५७ मेगावाट क्षमताको सान्जेन र तल्लो सान्जेन आयोजना बनाउँदै छ ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले स्थानिबासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानिबासिन्दालाई निष्कासन गर्न लागेको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड स्थानीय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर निष्कासन गर्नलाई बोर्डमा निवेदन दिएको छ ।

जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निष्कासन गर्देछ । शुभम् पावर लिमिटेडले स्थानीय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख, लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीय बासिन्दालाई ९ करोड ७८ लाख रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता, युनिक हाइडेल लिमिटेडले साढे ५ करोड रुपैयाँको ५५ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् ।
यस्तै सीईडीबी हाइड्रो फन्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ९८ हजार, कालिका पावर लिमिटेडले स्थानीय बासिन्दालाई ६ करोड रुपैयाँको ६ लाख र युनियन हाइड्रोपावर लिमिटेडले पनि स्थानीय बासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार रुपैयाँको ६ लाख ३३ हजार कित्ता सेयर निष्कासन गर्ने भएका छन् ।
मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, घलेमदी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् । मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख रुपैयाँ, घलेमदी हाइड्रोले ५ करोड ५० लाख रुपैयाँ र १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । यस्तै रैराङ हाइड्रोपावर लिमिटेडले पनि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्दैछन् ।